गिद्ध संरक्षणका लागि अन्तरक्रिया

दाङ । तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काले अहिलेको अवस्थामा पृथ्वी तात्तिएर जैविक शक्ति सम्पत्ति नष्ट भइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । जसरी हिजोको अवस्थामा विना कीटनाशक औषधिबाट बोट बिरुवा संरक्षण र उत्पादन गर्न सकेका थियौं । अहिलेको अवस्थामा तरकारी खेती गर्ने किसानहरूले पनि विषादी प्रयोग गर्नु पर्ने भएकाले पृथ्वीको तापक्रम पनि विषाक्त भएको बताए ।
विश्व वातावरण दिवसको अवसरमा आइतबार तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ डाँडाखुटीमा आयोजित गिद्ध संरक्षण सम्बन्धी सरोकार वाला निकायहरूसँग गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले वायुमण्डलमा देखिएको विषाक्तले हरेक जीव जन्तुको आयु कम हुँदै गएको बताए ।
पृथ्वीमा देखिएका विकार चिजहरूले मानव विभिन्न खालका प्राण घातक रोगहरूसँग जुध्न वाध्य भएको बताए । मानव मैत्री वातावरण नभएकाले मानवले विभिन्न खालका महामारीको चपेटामा परेको मेयर खड्काको भनाई थियो । साथै उनले आफू जुन स्थानमा छौ त्यस स्थानमा रहेको जैविक वनस्पतिको संरक्षण गर्दै एक घर एक बिरुवा रोप्न आवश्यक रहेको बताए ।

पुर्खाले जोगाएको सम्पत्तिले मात्रै नहुने भएकाले मानव जीवनका लागि सबै भन्दा ठुलो सम्पत्ति वातावरण रहेको बताउँदै त्यसलाई जोगाउन आवश्यक रहेको बताए । वातावरण जोगिए मात्रै मानव जोगिने उनको भनाई थियो । यसैबीच मेयर खड्काले तुलसीपुरलाई ग्रीन सिटीका रुपमा विकास गर्नको लागि सड्क भित्र गार्डेन बनाउने, अक्सिजन युक्त बिरुवा लगाउनुका साथै त्यसको संरक्षण गरिने बताए ।
त्यसका साथै प्रत्येक घर प्रत्येक ठाउँमा बिरुवा रोप्ने र विभिन्न खालका रूखहरू नास गर्न नदिने बताए । उक्त अवसरमा सम्झना सामुदायिक भवनको प्राङ्गणमा मेयर खड्काले स्याउ र आँपको बिरुवा रोपेका थिए । पर्यावरणीय दिगो विकास एवं अनुसन्धान केन्द्रको आयोजना तथा नेपाल पन्छी संरक्षण संघको सहयोगमा भएको उक्त कार्यक्रममा बोल्दै नेपाल पन्छी संरक्षण संघका परियोजना अधिकृत भुपाल नेपालीले गिद्ध वातावरणसँग सम्बन्धित पन्छी भएको र वातावरणलाई प्रदुषण रहित बनाउनका लागि आफै सिनोहरु खाएर वातावरणलाई सफा राख्नको लागि मद्दत गर्ने भएकाले वातावरण दिवसको अवसरमा गिद्ध संरक्षण सम्बन्धी कार्यक्रम आयोजना गरेको जानकारी दिए ।
नेपालीले गिद्ध संरक्षण गरेमा वातावरण जोगाउन सकिने बताउँदै गिद्ध समाजको अभिन्न अंग भएको जानकारी दिए । विश्वमै संकटासन्न अवस्थामा रहेका गिद्धहरू सम्झना सामुदायिक वनमा पाइने भएकाले सम्झना सामुदायिकको प्राङ्गनमा कार्यक्रम आयोजना गरेको बताए ।
पर्यावरणीय दिगो विकास एवं अनुसन्धान केन्दका अध्यक्ष डिल्ली रावतको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सम्झना सामुदायिक वनका अध्यक्ष युवराव वली, डिभिजन भव कार्यालय तुलसीपुरका सहायक डिभिजन प्रमुख कमल पुन, पत्रकार भरतराज शर्मा, खेमराज रिजाल, गोर्कण पौडेल लगायतले बोलेका थिए ।