पालिकामा अघि बढेन, औद्योगिक ग्राम स्थापनाको काम

दाङ । संघीय सरकारले पालिकामा औद्योगिक ग्राम स्थापनाको नीति लिएपनि दाङका कुनै पनि पालिकामा अहिलेसम्म औद्योगिक ग्राम स्थापना हुन सकेको छैन् । औद्योगिक ग्राम स्थापनाको नीति लिएको दुई वर्षसम्म पनि दुई उपमहानगरसहित १० वटै पालिकामा अहिलेसम्म औद्योगिक ग्राम स्थापना हुन नसकेको हो ।
१० पालिकामध्ये अहिलेसम्म तुलसीपुर, घोराही र लमहीमा औद्योगिक ग्राम स्थापनाका लागि संभाव्यता अध्ययन गरिएको छ । तर सात पालिकामा औद्योगिक ग्रामका लागि संभाव्यता अध्ययनसमेत शुरु नभएको घरेलु तथा साना उद्योग कार्यालय दाङका प्रमुख उमबहादुर वलीले बताए ।
तीन पालिकामा ग्राम स्थापनाका लागि संभाव्यता अध्ययन तथा डिपिआरको फाइल प्रदेश सरकारमा पठाइसकेको उनले बताए । तुलसीपुर उपमहानगरपालिका औद्योगिक ग्राम स्थापनाका लागि कार्यापालिकाको निणर्य केन्द्रमा पठाए पनि अहिलेसम्म केन्द्रले नै चासो नदिएको उपमहानगरका सुचना अधिकारी बावुराम न्यौपानले बताए ।
घोराही उपमहानगरपालिकामा पनि संघीघ सरकारले औद्योगिक क्षेत्र घोषणा गरिसकेको छ तर काम अघि बढ्न सकेको छैन् । लमही नगरपालिकामा वडा नम्बर ७ को हसनापुरमा औद्योगिक ग्राम स्थापनाको लागि नगरले प्रास्ताव अघि सारेको छ । करिब १० बिगाह क्षेत्रफलमा औद्योगिक ग्राम स्थापना गर्ने प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीले बताए ।