कृष्णसेन इच्छुकका हत्यारा पत्ता लगाइ कारबाही गर्न माग

दाङ । नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष उदय जिएमले शहीद कृष्णसेन इच्छुकका हत्यारालाई पत्ता लगाइ कारबाही गर्न माग गरेका छन् । शुक्रबार ‘इच्छुक’ को २० औँ स्मृति दिवसका अवसरमा नेपाल पत्रकार महासंघ दाङ शाखा र प्रेस सेन्टर नेपाल दाङले घोराहीमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले इच्छुकका हत्यारालाई छानविन गरी कारबाही गर्न माग गरेका छन् ।
उनले हत्या भएको लामो समय हुँदा पनि अहिलेसम्म उनका हत्यारा पत्ता लगाउन सरकारले ध्यान नदिनु दुख भएको पनि बताए । उनले भने,‘ अहिले हामी जिजुबाजे, बाजे हुँदै नातिसम्म आएका छौँ । कतिपयले इच्छुकलाई देखेको हौला । कतिपय सुनेका मात्र छौँ । तर, अहिलेसम्म उनको हत्या कसले गरेको हो ? कसरी भयो, भन्ने थाहा छैन् ।’ उनले इच्छुकले कमलको माध्यमबाट अन्यायका विरुद्ध बोल्दा लामो समयसम्म जेल र ज्यान गुमाउनु परेको भन्दै अहिले पनि पत्रकारमात्र आक्रमण भइरहेको बताए ।
उनले भने,‘ एमालेको सरकार बन्दा र राष्ट्रपति विद्यादेवी भण्डारी हुँदा मदन भण्डारीका हत्यारालाई खोज्ने काम भएन । अहिले पनि गठबन्धनको सरकार छ । त्यसमा माओवादी केन्द्रको पनि सहभागिता रहेको छ । कृष्ण सेनलाई कसले र कसरी मारेको हो ? हत्यारा को हुन् । के गर्दैछन्, भन्ने कुरामा पनि ध्यान दिएको छैन् ।’ ‘ यदि उहाँले आफूसँग भएका सूचनाहरू भनेको भए, मर्नु पर्ने थिएन होला । उहाँले आफ्नो ज्यानलाई माया मारेर सूचना नभनेर महानता देखाउनु भएको थियो,‘ उनले भने ।
कृष्णसेनको त्याग, साहस र निष्ठालाई हामीहरूले अनुशरण गर्नु पर्ने पनि उनले उल्लेख गरे । कृष्णसेन राजनीतिक, साहित्य क्षेत्रमा मात्र नभई पत्रकारिताको मार्फत समाजमा भएको सबै खालका विभेदको विरुद्धमा धावा बोल्ने भएको पनि उनले बताए । आज हामी जुन अभिव्यक्ति र पेस स्वतन्त्रताको जगमा छौँ ? कृष्ण सेन इच्छुक जस्ता शहीदहरूको कारणले आएको भन्दै आफूहरू कृष्णसेन इच्छुककै मार्ग दर्शन अँगालेर अगाडि बढि रहेको पनि उल्लेख गरे ।
त्यस्तै कार्यक्रममा बोल्दै दाङ शाखाको अध्यक्ष दुर्गालाल केसीले इच्छुकका हत्यारा पत्ता लगाइ कारबाही गर्नको लागि पत्रकारहरूले सरकारलाई दबाव दिनु पर्ने बताए ।
उनले यो पत्रकारिता जगतले उठाउनु पर्ने महत्व पूर्ण कुरा भएको भन्दै उहाँ कुनै राजनीतिक दलका नेता नभइ कलम चलाउने व्यक्ति भएकाले त्यसलाई गम्भिर घटनाको रुपमा लिनु पर्ने बताए । उनले इच्छुकका हत्यारालाई कारबाही भएपछि मात्र उहाँले पत्रकारिता क्षेत्रमा गरेको योगदानको उच्च मूल्यांकन हुने पनि बताए । उनले भने,‘ इच्छुक पत्रकारिता र साहित्य क्षेत्रमा धेरै योगदान गर्नु भएको छ । उहाँलाई सम्मान गर्नको लागि हामीले पत्रकारिताको क्षेत्रबाट कसरी सम्मान गर्न सक्छौँ ,भन्ने बारेमा चिन्ताको विषय छ ।’