आचारसंहिता पालनादेखि पानी पर्दा के गर्ने भन्ने बिषयमा छलफल

दाङ । निर्वाचनको मिती नजिकिदै गर्दा मुख्य निर्वाचन अधिकृतको कार्यालय दाङले सबै पक्षलाई आचारसंहिताको अक्षरस पालना गर्न आग्रह गरेको छ । राजनीतिक दलका प्रतिनिधिहरुलाई आज मुख्य निर्वाचन अधिकृतको कार्यालय घोराहीमा बोलाई कडाईका साथ आचारसंहिताको पालना गर्न गराउन आग्रह गरेको हो ।

मुख्य निर्वाचन अधिकृत न्यायाधिस रितेन्द्र थापाले चुनावी आचारसंहिता पालना गर्ने सवालमा सहयोगी भूमिका खेलिदिन दलहरुलाई आग्रह गरे । नमूना निर्वाचन गराउने विषयमा सबैको भूमिका समान हुने भन्दै उनले आचारसंहिता पालनासँगै निर्वाचनमा खटिएका प्रतिनिधिहरुलाई सघाउन उनले आग्रह गरे ।

भोली राती १२ बजे देखि मौन अबधी शुरु हुने भएको त्यस अबधीलाई पनि गम्भिरताका साथ लिएर सहयोग गर्नुपर्नेमा जोड दिए । निर्वाचनको दिनमा पालिका प्रमुखका उम्मेदवारले चार पांग्रे एउटा गाडी पास लिएर मात्रै प्रयोग गर्न पाउने र पालिका भन्दा बाहिर जान नपाउने बिषयमा जानकारी गराए ।

त्यस्तै वडा तहका उम्मेदवारहरुले दुई पांग्रे गाडी पास लिएर चलाउन पाउने र उनीहरु पनि वडा भन्दा बाहिर जान नपाउने विषयमा सचेत पार्न सुझाब दिए । निर्वाचनमा मतदान गर्न नसक्नेहरुको बिषयमा एकाघरमा एक जनाले भोट हाल्न पाउने, त्यसो हुन नसके निजले इच्छाएको व्यक्तिले भोट हाल्दीने र त्यो पनि हुन नसके मतदान अधिकृतले भोट हाल्ने व्यवस्था गरिएको छ ।

त्यसमा निज मतदाताले भनेको ठाउँमा भोट हाल्नुपर्ने छ । साथै मतदानका दिन मतदान केन्द्रमा एक दल एक प्रतिनिधि बस्ने गरि व्यवस्था गर्ने भनिएको छ । साथै पानी पर्ने अबस्थालाई मध्यनजर गर्दै आबस्यक तयारी गर्ने र सकभर कोठा भित्रै मतदानको व्यवस्था मिलाई मतपेटिकालाई पानीबाट बचाउनु पर्ने बिषयमा छलफल भएको छ ।

छलफलमा नेकपा एमालेका जिल्ला सचिब मनोहर बुढाथोकी, नेपाली कांग्रेसका रेशमराज गिरी, नेकपा माओबादी केन्द्रका जिल्ला सचिब विश्व आचार्य, राष्ट्रिय जनमोर्चाका अध्यक्ष गणेश आचार्य, राप्रपाका नरेशजंग राणा लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : २०७९ बैशाख २६ गते सोमवार
प्रतिक्रिया दिनुहोस