घोराही होलेरी सडकको अवस्था दयनिय

दाङ । घोराही उपमहानगरपालिका १५ का भीष्म झाँक्री पेशाले शिक्षक हुन् । उनी हप्तामा २ दिन घोराही–होलेरी सडक खण्ड मार्फत दाङ– रोल्पा आउने जाने गर्छन् । यो सडकमा यात्रा गर्दा एक जोर कपडा झोलामा बोकेर हिँड्छन् । धुलो र हिलोले लगाएको कपडा बाटैमा बिग्रिने भएकाले थप कपडा बोकेर हिँड्नुपर्ने उनको भनाइ छ । “म हप्तामा २ दिने यो बाटोबाट आउने जाने गर्छु तर, सडकको अवस्था नाजुक रहेको छ, सडकको यस्तो अवस्था हुँदा कसैले चासो दिएको छैन” उनले भने ।दैनिक एक सय भन्दा बढी ओभरलोडका टिप्पर उक्त रुटमा चलेका कारण सडक बिग्रिएकोउनले बताए । झाँक्री मात्र नभई दाङबाट रोल्पाको होलेरी हुँदै यात्रा गर्ने सबै नागरिक तथा यातायात चालकले यो समस्या भोग्दै आएका छन् ।

रोल्पा माडीचौरकी राधा पुनले यो सडकबाट यात्रा गर्दा धेरै डर लाग्ने गरेको बताइन् । “छोटो दुरी भएका कारण यो सडकबाट यात्रा गर्र्छौ,तर, सडक निकै जीर्ण छ, त्यसैमा पनि हिलो र धुलोले साह्रै सास्ती हुन्छ”उनले भनिन् । तीन वर्ष पहिले कालोपत्रे भएको सडक अहिले धुलाम्मे र हिलाम्य भएको छ । त्यस्तै अर्का यात्रु होमबहादुर ऐरले पनि सडक निर्माण गुणस्तरहीन हुँदा र क्षमता भन्दा बढी लोड बोक्ने गाडीका कारण सडकको यस्तो अवस्था आएको बताए। यात्रुहरू मात्र नभई सडक वरपरका बासिन्दाले पनि समस्या भोग्दै आएका छन् ।

दाङ लापेका दिलबहादुर पुनले सडकमा गाडी हिँड्दा धुलो उडाएर घरभित्र पुग्ने गरेको बताए । उनले सडकमा धुलो र खाल्टाखुल्टीले गर्दा पानी परेको समयमा पनि उस्तै समस्या हुने गरेको बताए । घोराही उपमहानगरपालिका १८ का विकास केसी चालक हुन् । उनले दाङदेखि रोल्पाको होलेरी गाडी चलाउन लागेको करिब १४ वर्ष भयो तर, उनले सडक पक्की भएको करिब ६ महिना जति राम्रोसँग गाडी चलाएको बताए । उनले निर्माण भएको छोटो समयमा सडक फेरि पुरानै अवस्थामा पुगेको भन्दै धुलो, हिलोका कारण धेरै सास्ती भोग्दै आएको बताए ।

जनयुद्धको समयमा तत्कालिन नेकपा माओबादीका कार्यकर्ता, लडाकु रस्थानीयबासीहरुले मिलेर ट्रयाक खोलेको घोराही–होलेरी सडक शान्ति सम्झौतापछि शहिद मार्गको रुपमा मान्यता पायो । त्यसपछि सरकार आफैले घोराहीबाट रोल्पाको होलेरी, रुकुम हुँदै डोल्पा जोड्ने लक्ष्य राखेर यो सडकको स्तरोन्नती सुरु गरेको थियो ।

घोराही–होलेरी सडक खण्ड तीन वर्ष अगाडी मात्रै कालोपत्रे भएको थियो । तर अहिले कालोपत्रे खोज्नु पर्ने अवस्थामा पुगेको छ, । घोराहि होलेरी सडकखण्डमा दुर्घटनाको उच्च जोखिम मोलेर यात्रु र यातायातका साधनसञ्चालन हुन्छन् । आफैमा अफ्ठेरो मानिने यो सडक खण्ड झन जिर्ण हुँदा यात्रा अवधीभर जीवन ड्राभरको हत्केलामा राखेर हिड्नु वाहेक अरु विकल्प छैन ।

दाङको घोराही देखि रोल्पाको होलेरी बजारको दुरी ३१ किलोमिटरको हो । सामान्य अवस्थामा ४५ मिनेटमा आउजाउ हुने यो सडक खण्डमा अहिले करिब २ घण्टा लाग्छ ।रुन्टीगढी गाउँपालिका अध्यक्ष बालाराम बुढाका अनुसार सडक अत्यन्त जीर्ण हुँदा सबैले सास्ती भोग्दै आएका छन् । यो सडकमा चुनढुङ्गा खानीबाट धेरै टिपर चल्दा जीर्ण बनेको उनको भनाइ छ । संघीय सरकार मातहत रहेको यो सडकको मुद्दा सर्वोच्च अदालतमा मुद्दा चलिरहेकाले त्यो किनारा नलाग्दासम्म अगाडि बढ्न नसक्ने उनको भनाइ छ ।

हस्तान्तरण नहुँदै भत्किएपछिघोराही होलेरी शहीद मार्ग आयोजनाका प्रमुख पवन भट्टराईका अनुसार निर्माण कम्पनीबाट हस्तान्तरण नहुँदै सडक भत्किएपछि आयोजनाले लिएको थिएन । उनले सडक भत्किएपछि निर्माण व्यवसायबाट (डीएलपी) त्यो समयभित्र त्रुटि सच्चाउने काममा नियमित मर्मतनहुँदा सडक झन् बिग्रेको बताए । उनका अनुसार नियमित मर्मतको लागि डीएलपीको अवधि ४ पटक गरेर २ वर्षसम्म थपिएको थियोतर, सम्झौताअनुसार २ वर्ष भन्दा बढी समय थप्न नमिल्ने कारणले २०७८ मंसिर ६ गते उक्त सम्झौता रद्द गरेको उनको भनाइ छ ।

आयोजनाले निर्माण व्यवसायीसँग सम्झौता रद्ध गरेपनि निर्माण कम्पनीले सर्वोच्च अदालतमा रिट हालेको र अदालतबाट रिटको टुंगो नलाग्दासम्म कारबाही स्थगित गर्ने आदेश भएका कारण पनि नयाँ टेण्डर नभएको आयोजना प्रमुख भट्टराईले बताए । “अदालतबाट पनि आदेश भएको छ, अहिले तुरुन्त नयाँ ठेक्का लगाउने अवस्था पनि छैन तर, हामीले नयाँ ठेक्काको लागि सडक विभागमा डीपीआर तयार गर्न यहाँबाट हामीले टिप्पणी पठाएका छौँ,यो आर्थिक वर्षमा हाम्रो डीपीआर शुरु गर्ने लक्ष्य रहेको छ” उनले भने ।

सिल प्यासिफिक जेभीले ४६ करोड रुपैयाँमा यो सडकको स्तरोन्नति गरेको हो । २०७१ सालको शुरुमा निर्माण कम्पनीले जिम्मा लिएको यो सडक २०७५ सालमा सम्पन्न भएको थियो । अहिलेसम्म करिब ४३ करोड भुक्तानी भइसकेको आयोजनाले बताएको छ । घोराहीदेखि दुई खोलीसम्मको सडक केही राम्रो भए पनि त्योभन्दा माथि सडक पूरै जीर्ण बनेको छ । भिरको बाटोमा खाल्डा बनेका छन् ।

पहिरोका कारण विभिन्न समयमा सडक अवरुद्ध भइरहन्छ । १२ अर्ब रुपैयाँ लाग्ने दाङको घोराहीदेखि रोल्पाको होलेरी हुँदै पूर्र्वी रुकुमको मैकोटसम्म २२० किलोमिटर दूरी रहेको शहीद मार्गमा करिब १२ अर्ब रुपैयाँ लाग्ने आयोजनाले बताएको छ। आयोजना प्रमुख भट्टराईका अनुसार २०७६ को स्टिमेट अनुसार करिब १२ अर्ब लाग्ने अनुमान गरिएको थियो । अहिलेसम्म २० प्रतिशत जति भौतिक प्रगति हासिल गरेको पनि उनको भनाइ छ । उनका अनुसार बजेट प्राप्त भए करिब २०८५ सम्म शहीद मार्ग कालोपत्रे हुनसक्छ ।

प्रकाशित मिति : २०७९ बैशाख ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस