दाङमा चैते धान रोप्दै

दाङ । नयाँ वर्ष २०७९ को उल्लास छाईरहेका बेला दाङका केही भेगमा भने चैते धान रोपाईँको चटारो छ । नयाँ वर्षका अवसरमा अधिकांश ठाउँहरुमा भेटघाट र शुभकामना आदानप्रदान गरेर मनाइरहेका बेला दाङको बंगलाचुली गाउँपालिका वडा नंं. ३ र ४ का किसानहरु भने चैते धान रोप्न व्यस्त छन् ।

सुकाखोला आसपासका स्थानीयहरु चैते धान रोप्दै नयाँ वर्ष खेतमै मनाउन व्यस्त भएका हुन् । खोला छेउँका डाबरहरुमा चैते धान रोप्दै आएका कृषकहरुले पहिलेदेखि नै यही परम्परागत खेतीलाई निरन्तरता दिएका छन् । धान रोप्न बालबालिकादेखि बयस्क सबै खेतमै भेटिने गरेका छन् । खेतालाहरुका लागि बिहान र दिउँसोको खाना, खाजा खेतमै पाक्ने गरेको छ ।

उनीहरुका अनुसार चैतको अन्तिम तथा बैशाखको पहिलो साता रोपिएको धान साउनको पहिलो सातातिर पाक्ने गरेको छ । यो ठाउँका कृषकले वर्षमा तीन बाली भित्र्याउने गरेका छन् । अहिले रोपेको चैते धान साउनको पहिलो साता काटेपछि वर्षे धान रोप्ने गरेका छन् ।

उक्त धानबाली काटेर कार्तिकमा धान काटेलगत्तै फेरी गहुँ छर्ने गरेको स्थानीय भरत थापाले बताए । उनका अनुसार चैतको दोश्रो साता गहुँबाली काटेपछि फेरी चैते धान रोपिएको हो । हावापानी र सिँचाई पुगेको यो ठाउँमा अन्नबाली जस्तै तरकारी खेती पनि राम्रो हुने गरेको छ । जिल्लाको देउखुरी क्षेत्रमा पनि यो वर्ष चैते धान रोपिएको छ ।

गढवा गाउँपालिका वडा नम्बर ३ गोबरहिहामा यो वर्ष चैते धान रोपिएको स्थानीयले बताएका छन् । वर्षे मौसममा जस्तै धान बाली नफल्ने भएपनि मौसम र पानी प्रसस्त भएमा सामान्यता राम्रंो धान फल्ने गरेको कृषकहरुको भनाई छ । कृषि ज्ञान केन्द्र दाङका अनुसार जिल्लामा करिब दुई हजार पाँच सय बढी हेक्टरमा चैते धान खेती हुने गरेको छ ।

प्रकाशित मिति : २०७९ बैशाख २ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस