करिब ५ बिगाहा क्षेत्रफलमा रोपिएको बेमौसमी मुलाले किसानलाई डुबायो
दाङ । तुलसीपुर उपमहानगरपालिका ३ हरेबासका कृतिबहादुर खड्काले गत वर्ष अहिलेको सिजनमा एउटा खेतको गरामा मूला खेती गरेर करिब २५ हजार आम्दानी गरे । थोरै जग्गामा लगाएको मुलाले राम्रो आम्दानी भएपछि उनले यस पटक करिब डेढ कठ्ठा जग्गामा खेती गरेका थिए । उनले अहिले मूला राम्रो नभएको भन्दै उखलेर नै खेत भरी फालेका छन् ।
उनले भने, ‘गत वर्ष यही समयमा तरकारीका व्यापारीहरू हाम्रो मुला लिन यही आउँथे । ३० देखि ४० रुपैयाँमा बिक्री गरेका थियौँ । यस पटकमा राम्रो आम्दानी गर्नको लागि ३ वटा खेतका गरामा लगाएको थिए । यदि राम्रो भएको भए कम्तीमा ५० हजार आम्दानी हुने थिए । त्यो सबै डुब्यो ।’
उनले अहिले खेतमा भएका मुलाहरू सानो र किरा लागेका कारण सबै उखलेर फालेको बताए । उनले गत वर्ष ल्याएको मुलाको बिउँभन्दा यस पटकको अलि फरक खालको हुँदा पनि त्यस्तो भएको हुन सक्ने बताए । ‘हामीले तुलसीपुरमा रहेको पृथ्वी एग्रोभेट सेन्टरबाट किनेर ल्याएका थियौँ,’ उनले भने, ‘गत वर्ष अलि रातो खालेको थियो । यस पटक त्यस्तो थिएन । एक पोकालाई ३ सय रुपैयाँमा किन्दा पनि गत वर्षको भन्दा धेरै पाएका थियो । बिउँको बाहिर रहेको प्याकेटमा पनि मुलाका आकार ठुलो भएको चित्र थियो । यस पटक मुला राम्रो भएन । हामीलाई बिउँ मै शंका लागेको छ ।’
उनका अनुसार गाउँका अरु स्थानीयहरूले एग्रोभेटमा गएर जानकारी गराउँदा एग्रोभेट सञ्चालक बिउँको बारेमा कम्पनी जानकारी गराउने भनेर भन्ने गरेका छन् । उनका अनुसार मुला रोपेको करिब ढाई महिना भएको छ । तर, बिक्री गर्ने समयमा मुला राम्रो नहुँदा धेरै नोक्सानी भएको पनि छ । त्यस्तै गाउँमा खड्का मात्र नभइ करिब २५ घरले खेतमा मुलाखेती गरेका छन् । सबैको अवस्था उस्तै भएपछि उनीहरूले मुला उखलेर खेत भरी फालेका छन् । त्यस्तै स्थानीय गंगाधर खड्काले पनि यस पटक करिब ४ कठ्ठामा मुला खेती गरेका थिए ।
उनले गत वर्ष करिब २५ हजारको आम्दानी गरेपछि यस पटक ४ कठ्ठामा मुला खेती गरेको बताए । उनले भने, ‘सानो मुला छ । बाहिर पहेँलो र भित्र कालो दाग देखिन्छ । यस्तो मुला तरकारी पसलमा बिक्री हुँदैन । त्यसैले हामीले सबै उखलेर फालेका छौँ । गत वर्ष त राम्रो भएको थियो । यस पटक बिउँ राम्रो परेन छ ।’ उनले मुला खेती गर्दा बिउँ मल लगायतको करिब ८ हजार जति खर्च भएको पनि बताए । त्यस्तै अर्का स्थानीय लक्ष्मणबहादुर डाँगी उनले पनि ६ कठ्ठा जग्गामा मुला खेती गरेका थिए ।
उनले मुलाको ४ पोका बिउँ ल्याएर लगाएको भन्दै अहिले राम्रो नभएको बताए । उनले मुलामा कीरा लागेको हुँदा पनि २ पटक औषधि ल्याएर राख्दा पनि कीरा नमरेको र मुला राम्रो नभएको बताए । उनले भने, ‘बिउँ, मल औषधि गर्दा धेरै खर्च भएको छ । गाउँका धेरैले उखलेर फालेका छन् । तर, मेरा खेतमा उस्तै छैन् । मैले उखलेर फालेको छैन् । न त्यो मुला खादा राम्रा छ । न त बिक्री हुन्छ । यस पटक हामीलाई धेरै घाटा लाग्यो । गत वर्ष ५० हजार जतिको बिक्री भएको थियो । यस पटक राम्रो बिउँ नहुँदा डुब्यो ।’
त्यस्तै उनले आफूहरू जस्ता किसानहरूलाई स्थानीय सरकारले सहयोग गर्दा यस्तो समस्या भोग्दै आएको बताए । उनले आफूहरू विपक्षी पार्टीको हुँदा वडाले कुनै पनि सहयोग नगरेको आरोप लगाए । उनले भने, ‘यदि हामीलाई वडाले बिउँ सहयोग गरेको भए यस्तो समस्या हुन थिएन होला । कुन बिउँ कस्तो हुन्छ । हामीलाई थाहा हुँदैन । एग्रोभेटमा जाने उसैले यो राम्रो बिउँ भन्दै दिन्छ । त्यही ल्याएर लगायो । त्यसैले हामी किसानलाई राज्यले हेर्नु पर्छ । न हामीले समयमा मल पाएका हुन्छौ, न बिउँ राम्रो पाउँछौँ ।’ त्यस्तै उनले गत वर्ष राम्रो मुला हुँदा आफूहरूले तरकारी व्यापारीहरूलाई पु¥याउन धौ धौ भएको भन्दै दैनिक ४०/५० किलो मुला बिक्री भएको पनि बताए । गाउँमा करिब ५ बिगाहा जग्गामा मुला खेती गरेका उनको भनाइ छ ।
त्यस्तै सुशीला खड्काले पनि यस पटक करिब १० कठ्ठा जमिनमा मुला खेती गरेको बताइन् । उनले पनि गत वर्ष राम्रो आम्दानी भएपछि यस पटक धेरैमा खेती गरेको भएयता पनि मुला राम्रो नहुँदा नोक्सानी भएको बताइन् । उनका अनुसार एक प्याकेट मुलाको मूल्य ३ सय परेको थियो । उनले भनिन्, ‘गत वर्ष खेतको एउटा गरामा लगाउँदा करिब १५ हजार आम्दानी भएको थियो । यस पटक पनि राम्रो हुन्छ, होला भनेर नै १० कठ्ठामा खेती गरेको सबै गयो ।’ हरेबासका स्थानीयहरूले एग्रोभेटबाट एलएचआर, सिल्पी एफ १ र महिको माही ११ नामक मुलाको बिउँ लगेर रोपेका थिए ।
त्यस्तै किसानहरूलाई एलएचआर, सिल्पी एफ १ र महिको माही ११ नामक मुलाको बिउँ बिक्री गरेको पृथ्वी एग्रोभेट सेन्टरले भने मुलाको विउँमा कुनै समस्या नभएको बताएको छ । सेन्टरका संचालक भागवत बरालले आफूले दिएको मुलाको विउँमा कुनै समस्या नभएको दाबी गरे । उनले मुला लगाउने समय भदौँदेखि असोज महिनासम्म भएयता हेरेबासका स्थानीयहरूले अफ सिजनमा लगाउँदा त्यस्तो भएको बताए । उनले भने, ‘बिउँ नक्कली भन्ने होइन । किसानहरुले अफ सिजन लगाउनु भएको छ । त्यस्तो समस्या मौसमका कारणले पनि हुनसक्छ । अहिले मुलालाई चाहिने तापक्रम बढि छ । बिउँ बेमौसमी भएपनि तापक्रमको कारणले गर्दा यस्तो हुनसक्छ ।’
त्यस्तै तुलसीपुर उपमहानगरपालिकाको कृषि शाखाले भने विउ विजन गुणस्तर नियन्त्रण केन्द्रमा बुझ्दा किसानहरु लगाएको मुलाको बिउँ सुचिकृत नभएको जानकारी आएको बताएको छ । कृषि शाखाका आठौँ अधिकृत धनराज गौतमका अनुसार पीडित किसानहरुले शाखामा निवेदनमा आफूहरूले कृषि ज्ञान केन्द्र हुँदै बिउँ विजन गुणस्तर नियन्त्रण केन्द्रमा पठाउने पनि बताए । उनले किसानहरुको समस्या समाधान सम्बोधन हुने पनि बताए ।
त्यस्तै उनले अहिले पनि धेरै किसानहरु कृषि शाखामा बिउँ विजनदेखि मल औषधिसम्मको जानकारी लिन आउने भन्दै आफूहरूको सल्लाह अनुसार नै खेती गर्न आग्रह गरे । उनले राज्यले कुन कुन खेती कस्तो समयमा र कुन बिउँ लगाउने भन्ने सुचिकृत गरेको छ, त्यसको बारेमा जानकारी लिएर मात्र खेती गर्न समेत आग्रह गरे । त्यस्तै उनले किसानहरूलाई कुनै पनि बाली रोप्नु भन्दा पहिला कृषि प्राविधिकहरुसँग परामर्श लिन समेत आग्रह गरे ।