हतियार बुझाउन अटेरी, ११ थान बन्दुक प्रहरीलाई प्राप्त

दाङ । स्थानीय तह निर्वाचनलाई सुरक्षित बनाउन सरकारले लाइसेन्स प्राप्त हतियारहरु फिर्ता गर्न नागरिकहरुलाई आग्रह गरे पनि दाङमा अटेरी भएको छ ।

जिल्ला प्रशासन कार्यालय दाङमा यही चैत्र ११ गते बसेको जिल्ला सुरक्षा समितिको बैठकले यही चैत्र ३० गतेसम्म त्यस्तै लाइसेन्स प्राप्त र अन्य कोही सँगै गैरकानुनीरुपले राखिएका हतियार बुझाउन समय दिएको थियो । तर अहिलेसम्म ११ वटा मात्रै हतियार प्रहरीलाई बुझाईएको छ । जिल्ला प्रशासन कार्यालय दाङको रेकर्डमा २ सय ७२ वटा लाइसेन्स प्राप्त हतियारहरु व्यक्ति सँग रहेको छ । तर नागरिकहरुले हतियार बुझाउन अटेरी गरेका छन् ।

अहिलेसम्म जिल्ला प्रहरी कार्यालयमा ३ वटा, अस्थायी प्रहरी पोष्ट कोठरीमा ४ वटा, इलाका प्रहरी कार्यालय तुलसीपुर, वडा प्रहरी कार्यालय घोराही, वडा प्रहरी कार्यालय लमही र अस्थायी प्रहरी पोष्ट चौघेरामा एक÷एक थान लाइसेन्स प्राप्त हतियार बुझाएको दाङका प्रहरी प्रबक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।

प्रशासनको रेकर्ड अनुसार हतियार धेरै रहेको तर अहिलेसम्म न्यून मात्रामा हतियार आएकाले सूचना नपुगेको पनि हुन सक्ने र अटेरी पनि हुन सक्ने प्रहरीको आँकलन छ । चुनावलाई सुरक्षित र भरपर्दाे बनाउनका लागि सबै हतियारहरु बुझाउनै पर्ने प्रबक्ता रिजालको भनाई छ । प्रहरीले नागरिकहरु सँग रहेका त्यस्ता हतियारहरु छिटो बुझाउन समेत आग्रह गरेको छ ।

प्रकाशित मिति : २०७८ चैत्र २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस