बेमौसमी वर्षाले धानमा क्षति व्यहोरेका कृषकले राहत पाउन सकेनन

दाङ । दाङमा बेमौसमी वर्षाले धानमा क्षति व्यहोरेका कृषकले राहत पाउन सकेका छैनन् । क्षति पुगेको ६ महिना बितिसक्दा समेत राहत रकम पाउन नसकेका हुन । राहतका लागि जिल्लामा १० करोड बजेट आए पनि वितरण हुन भने सकेको छैन ।

जिल्ला प्रशासन कार्यालय दाङको नाममा राहत रकम आएको कोष तथा लेखा नियन्त्रक कार्यालय दाङका सूचना अधिकारी उदयराज भण्डारीले जानकारी दिए । प्रशासनबाट माग भई आएमा रकम निकासा हुने भण्डारीले बताए । कृषकहरूको राहतका लागि आएको रकम छिट्टै नै पालिकाहरूमार्फत् कृषकलाई प्रदान गरिने प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए ।

सबै पालिकाबाट विवरण आएपछि रकम प्रदान गरिने उनको भनाई छ । गएको असोज महिनामा बेमौसमी वर्षाले दाङमा करिब ७० करोड रूपैयाँको धान बालीमा क्षति पुयाएको अनुमानित विवरण तयार गरिएको थियो । जिल्लाका १० वटा स्थानीय तहबाट संकलन गरेको तथ्याङ्कअनुसार उक्त रकम बराबरको धान बालीमा क्षति पुगेको हो ।

कृषि ज्ञान केन्द्रकाअनुसार जिल्लामा ६९ करोड १७ लाख ६ हजार २२५ रूपैयाँको क्षति भएको हो । जिल्लामा ८ हजार ९ सय ९८ दशमलव ९ हेक्टर क्षेत्रफलमा लगाइएका धान बालीमा पानीले क्षति पु¥याएको थियो ।

प्रकाशित मिति : २०७८ चैत्र २६ गते शनिवार
प्रतिक्रिया दिनुहोस