नयाँ वर्षको पूर्वसन्ध्यामा दाङको भालुबाङमा वृहत सांस्कृतिक कार्यक्रम हुने

दाङ । नयाँ वर्षको पूर्वसन्ध्यामा लुम्बिनी प्रदेशको स्थायी राजधानी भालुबाङमा वृहत सांस्कृतिक कार्यक्रम २०७९ हुने लागेको छ । भालुबाङमा रहेको होटल पौवाले यही चैत ३० गते सांस्कृतिक कार्यक्रम गर्न लागेको शनिबार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो ।

नेपालीहरूको कला र संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यले राष्ट्रिय कलाकारहरूको साथमा कार्यक्रम गर्न लागेको होटलका प्रमुख परिचालन अधिकारी ( सीओओ ) कृष्ण गौतमले बताए । उनले चैत्र ३० गते साँझ आयोजना हुने थारू संस्कृतिमा आधारित साङ्गीतिक कार्यक्रमसँगै राष्ट्रिय चर्चित लोकदोहोरी गायक पशुपति शर्मा, अस्मिता डल्लाकोटी, सुमन परियार लगायतका कलाकारहरूको प्रस्तुती रहने समेत बताए ।

उनका अनुसार नेपालीहरूको विभिन्न चाडपर्वलाई विशेष बनाउँदै आएको होटलले यसै वर्षबाट नेपालीहरूको नयाँ वर्षको स्वागत गर्न साङ्गीतिक कार्यक्रमको आयोजना गरिएको हो । यस्तै होटल पौवा देशका विभिन्न १२ स्थानबाट सञ्चालनमा आएको भएयता पनि नयाँ वर्षको अवसरमा रूपन्देहीको भैरहवा र बुटवल र भालुबाङमा रहेको होटलमा साङ्गीतिक कार्यक्रम गर्न लागेको समेत उनको भनाइ थियो ।

उनले भने,‘ पछिल्लो समय अङ्ग्रेजी नयाँ वर्षलाई नेपालमा महत्व दिन थालिए पनि पौवाले नेपालीहरूले वर्षौँदेखि मनाउँदै आएको चैत्र मसान्तमा पुरानो साललाई बिदाई र नयाँ सालको स्वागत गर्ने गरि कार्यक्रम तय गरिएको हो । बुटवलमा नौमती बाजा, भैरहवामा भोजपुरी संगीत बाट पुरानो सालको बिदाई र नयाँ सालको स्वागत गरिने छ । ’

यस्तै बुटवल रहेको होटल पौवामा राष्ट्रिय गायक निशान भट्टराई, बालिका प्रधान, विशाल राईका साथ भ्वाइस द ब्याकप ब्याण्डको प्रस्तुती रहने समेत उनको भनाइ थियो । त्यसैगरी भैरहवामा राष्ट्रिय गायक राजनराज शिवाकोटी, मिलन नेवार, भानुभक्त ढकाल, नेपाल आइडलका आइडल भुपेन्द्र थापा मगरको प्रस्तुती रहने छ ।

त्यस्तै उनले साङ्गीतिक कार्यक्रम स्थलमा प्रवेशलाई निःशुल्क बनाइए पनि कार्यक्रम स्थलमा प्रवेश गर्न पौवाबाट पठाइएको निमन्त्रणा कार्ड लिएर आउन आग्रह गरेका छन् । उनले भने,‘ हाम्रो यो निःशुल्क कार्यक्रम हो । तर, यहाँको सुरक्षालाई मध्यनजर गरी हामीले निमन्त्रणा पठाएको कार्ड लिएर आउन आग्रह गर्दछु । तर, कार्ड भएपनि प्रवेश गर्न सकिन्छ ।’

भालुबाङको कार्यक्रमका लागि ५ हजार जनालाई निमन्त्रणा कार्ड पठाएका छौँ । हाम्रो कार्यक्रम बेलुका ५ बजेदेखि राति १२ बजेसम्म हुन्छ ।’ त्यस्तै उक्त कार्यक्रमको दिन ५० रुपैयाँ देखि साढे २ सय रुपैयाँमा पौवामा बनेका खानाका परिकारहरू खान सकिने समेत बताए ।

प्रकाशित मिति : २०७८ चैत्र २६ गते शनिवार
प्रतिक्रिया दिनुहोस