सल्यान कपुरकोट–चोरखोला सडक खण्ड फेरी बन्द

दाङ । बुधबारदेखि पुनः राप्ती राजमार्ग अन्र्तगत पर्ने सल्यान कपुरकोट–चोरखोला सडक बन्द हुने भएको छ । सडक स्तरोन्नती गर्न लागेको भन्दै उक्त सडक दैनिक ९ घण्टा बन्द हुने जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ ।
सडक डिभिजन कार्यालय दाङले पठाएको परिपत्र अनुसार प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको सरोकारवालाहरुको बैठकले बुधबारदेखि चैत २९ गतेसम्म दैनिक ९ घण्टा सडक बन्द गर्ने निर्णय गरेको हो । दाङ–सल्यान अन्र्तगत पर्ने राप्ती राजमार्गको कपुरकोट–चोरखोला सडक स्तरोन्नतीका लागि तोकिएको समय अवधीभर पुर्ण रुपमा बन्द हुने कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।
कार्यालयले जारी गरेको सूचना अनुसार बुधबारदेखि लागु हुने गरी दैनिक बिहान ७ बजेदेखि ९ बजेसम्म, ११ बजेदेखि दिउँसो ३ बजेसम्म र बेलुका साढे ५ देखि ८ बजेसम्म उक्त सडक पुर्ण रुपमा बन्द हुने भएको छ । उक्त समय अवधीभर दाङ–सल्यान आवतजावत गर्नका लागि पैयाखोरे हुँदै कपुरकोट बैकल्पिक सडक मार्ग प्रयोग गर्न सकिने कार्यालयले बताएको छ ।