आगलागी नियन्त्रण गर्न जनस्तरबाटै सावधानी अपनाउनु पर्ने

दाङ । सुक्खा मौसमको शुरुवात भएसँगै हावाहुरी चल्ने, डढेलो लाग्ने, घर, पसल, कार्यालय र वनलगायतमा आगलागी हुने समय आएको छ । मुख्यतया चैत, वैशाख र जेठ महिनाका करिब १०० दिन आगलागीका विपद्जन्य घटना बढी हुनसक्ने भएकाले त्यस्ता घटना हुन नदिन र भइहालेमा पनि कम क्षतिमा नियन्त्रण गर्नका लागि जनस्तरबाटै सावधानी अपनाउन सरोकारवालाको भनाई छ ।

तीनै तहका सुरक्षा निकाय, नेपाल रेडक्रस, तालिमप्राप्त जनशक्ति, आगलागी नियन्त्रणका लागि दमकल र अन्य स्रोत साधन पनि तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए । आगलागी तथा डढेलोबाट बच्न सबैभन्दा पहिले आँफू स्वयम् सचेत हुनुपर्ने प्रमुख जिल्ला अधिकारी रेग्मीको भनाई छ । प्रमुख जिल्ला अधिकारी रेग्मीका अनुसार तुलसीपुर उपमहानगरपालिका, घोराही उपमहानगरपालिका, लमही नगरपालिका र गढवा गाउँपालिकामा गरी चारवटा मात्रै दमकल छन् ।

यसैबिच आगलागीका घटना नियन्त्रण तथा डढेलोको क्षति कम गर्न जिल्ला वन कार्यालय दाङले कुनै नयाँ योजनाहरु नभएको बताएको छ । विगतमा गर्दै आएको कार्यक्रमलाई नै निरन्तरता दिने जिल्ला वन कार्यालय दाङका प्रमुख मोहन प्रसाद श्रेष्ठले बताए ।

प्रकाशित मिति : २०७८ चैत्र २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस