खाद्यान्न प्रशोधन तथा प्याकेजिङ तालिम सुरु

गढवा । स्वच्छ ब्यवसायी समूह नेपाल र मञ्जरी महिला साना किसान कृषि सहकारी संस्थाको आयोजनामा किसानहरुलाई खाद्य प्रशोधन तथा प्याकीङ सम्बन्धी १० दिने तालीम गढवाको बाँकीमा आइतबारदेखि सुरु भएको छ । सहकारी संस्थाका अध्यक्ष सीता चौधरीको अध्यक्षतामा सुरु भएको तालिमको उद्घाटन गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादव र वडा अध्यक्ष प्रकाश भण्डारीले संयुक्त रुपमा गरेका हुन् ।

तालिमको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष सहजराम यादवले स्थानीय उत्पादनलाई बजारीकरण गर्नका लागि यो तालिम महत्वपूर्ण रहने बताए । किसानहरुको उत्पादनलाई बजारीकरण गर्न र किसानको आयस्तरमा बृद्धि गर्दै स्वरोजगार बनाउन यस्ता तालिमको महत्व रहने उनले बताए । कार्यक्रमका बिशिष्ट अतिथि वडा नं. ५ का वडा अध्यक्ष प्रकाश भण्डारीले मञ्जरी महिला साना किसान र सिपि नेपाल मार्फत वडा कार्यालयको समन्वय सहकार्यमा थुप्रै किसानमुखि कार्यक्रमहरु सम्पन्न गरिएको बताए ।

दश दिनसम्म संचालन हुने तालिममा कुबिण्डोबाट मिठाई बनाउने, सिन्की बनाउने र प्याकेजीङ गर्ने, गेडागुडी, बदाम र अचार बनाउने तथा प्याकेजिङ गर्ने लगायतका कामहरु सिकाइने प्रशिक्षक श्यामलाल खनालले जानकारी दिए । स्वच्छ ब्यवसायी समूह नेपालले यसअघि पनि गढवाको कुमाल टोलमा बिपन्न सिमान्तकृत वर्गका नागरिकहरुलाई माटोका भाँडाहरु बनाउने तिन महिने तालिम सुरुवात गरेको र उक्त समुदायमा भाँडा पकाउने भट्टी समेत निर्माण गर्ने योजना रहेको परियोजनाका संयोजक बासुदेव घिमिरेले जानकारी दिए ।

उक्त परियोजनाले गढवाका वडा नं. ५ र ६ तथा राप्ती गाउँपालिकाका वडा नं. ४ र ५ मा बिपन्न र सिमान्तकृत समुदायमा सीप तथा रोजगारका लागि बिभिन्न आयमुलक कार्यक्रमहरु संचालन गरेको उनले बताए । कार्यक्रमको संचालन उद्यम बिकास सहजकर्ता राजेन्द्र चौधरीले गरेका थिए ।

प्रकाशित मिति : २०७८ चैत्र २० गते आइतवार
प्रतिक्रिया दिनुहोस