जैविक फोहोरबाट ग्याँस उत्पादन शुभारम्भ
दाङ । घोराही उपमहानगरपालिकाले जैविक फोहोरबाट ग्यास उत्पादन शुभारम्भ गरेको छ । २०७५ सालबाट निर्माण थालनी गरिएको उक्त वायोग्यासको आज एक कार्यक्रमका बीच नगर प्रमुख नरुलाल चौधरीले गरेका हुन् ।
घोराही उपमहानगरपालिका वातावरण तथा विपद् व्यवस्थापन समिति संयोजक शक्तिराम डाँगीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा वायो ग्याँस उत्पादनसँगै बजारीकरणले नगरबासीलाई लाभ मिल्नुका साथै वातावरण संरक्षणमा टेवा पुग्ने विश्वास लिईएको छ ।
करिव २४ करोडको लागतमा निर्माण गरिएको वायो ग्यास प्लान्टबाट उत्पादित ग्याँस पाईप लाईनमार्फत हाललाई घोराही १० र १६ नम्बर वडाका नागरिकलाई वितरण गर्ने तयारी भएको छ ।
सो अवसरमा नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसी, वडा नम्बर १६ का अध्यक्ष ताराबहादुर डिसी, प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसी, उपप्रमुख सीता सिग्देल न्यौपाने, परियोजना केन्द्रका म्यानेजर रणबहादुर थापालगायतले बोलेका थिए ।