खरको छानो मुक्त अभियान : दुई हजार बढी घरमा जस्तापाता

दाङ । तुलसीपुर उपमहानगरपालिकाले खरको छानो मुक्त बनाउने अभियान अन्तर्गत तीन वर्षको अवधीमा दुई हजार आठ सय ९६ घर परिवारलाई जस्तापाता वितरण गरेको छ । तुलसीपुर उपमहानगरपालिकाका सूचना अधिकारी बाबुराम न्यौपानेका अनुसार मेयर खरको छानो विस्थापन कार्यक्रम अन्र्तगत १७ सय र सुरक्षित नागरिक आवास अन्र्तगत ८ सय ९६ घर परिवारलाई जस्तापाता वितरण गरिएको हो ।

संघीय सरकारले सुरक्षित नागरिक आवास कार्यक्रम संचालन गरेपछि मेयर खरको छानो विस्थापन कार्यक्रम स्थगित गरिएको उनको भनाई छ । तुलसीपुरका १९ वटै वडामा अहिले सुरक्षित नागरिक आवास कार्यक्रम संचालन भैरहेको बताउँदै सूचना अधिकारी न्यौपानेले प्रति घरलाई जस्तापाता लगाउनका लागि ५० हजार रुपैंयाँ दिने गरेको छ ।

यसवर्ष सुरक्षित नागरिक आवास कार्यक्रमका लागि २ करोड ९ लाख बजेट आएकोमा ५१ लाख ३८ हजार रुपैंया खर्च भएको सूचना अधिकारी न्यौपानेले जानकारी दिए । जसमध्येबाट पहिलो किस्तामा ९ जनालाई भुक्तानी गरिएको छ भने ९७ जनालाई पूरा किस्ता भुक्तानी गरिएको छ ।

प्रकाशित मिति : २०७८ चैत्र १९ गते शनिवार
प्रतिक्रिया दिनुहोस