एक हप्ता भित्र भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोवास गर्नेलाई निस्सा दिइने

दाङ । राप्ती गाउँपालिकामा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई लालपुर्जा दिने कार्यलाई अघि बढाउन निस्सा एक हप्ता भित्र उपलब्ध गराउन निर्देशन गरिएको छ । गाउँपालिकामा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासी स्थानीय सेवा केन्द्रको कार्यालयको उद्घाटनको क्रममा राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाले यस्तो निर्देशन दिए ।

गाउँपालिका कार्यपालिका सदस्यहरूसँग बैठक पश्चात अध्यक्ष निरौलाले नागरिकले बस्दै आएको जग्गाको प्रमाण र अपनत्व पाउनका लागि तत्काल निस्सा दिई लालपुर्जा दिने काम अघि बढाउन गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीलाई सल्लाह सुझाव दिए । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासी स्थानीय सेवा केन्द्रका प्रमुख बालचन्द्र गुरुङले जानकारी दिए ।

गाउँपालिका अध्यक्ष नुमानन्द सुबेदीले आयोगको अनुरोध अनुसार काम सुरु भैरहेको र राप्ती बासी भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई लालपुर्जा छिटो भन्दा छिटो दिलाउन लागिरहेको बताए ।

भूमि सम्बन्धी समस्या समाधान आयोग र गाउँपालिका बिच भएको समझदारी पत्र बमोजिम गाउँपालिकाले लगत संकलन कार्य सम्पन्न गरि कन्ट्रोल प्वाइन्ट राख्ने लगायतको काम सम्पन्न गरिसकेको छ र कोही कसैको लगत फारम भर्न छुट्न गएकाहरूको यही २२ गते देखि वडा कार्यालयमा १ दिनको लागी भर्न सकिने भनी सूचना पनि प्रकाशन भएको केन्द्रका प्रमुख बालचन्द्र गुरुङले जानकारी दिए ।

प्रकाशित मिति : २०७८ चैत्र १८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस