बालबालिकालाई टाइफाईड रोग विरुद्धको खोप लगाईदै

दाङ । घोराही उपमहानगरपालिकाले यही चैत्र २५ गतेदेखि बैशाख ९ गतेसम्म बालबालिकालाई हाटफाईड रोग विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । १५ महिनादेखि १५ बर्ष मुनिका ७३ हजार बढी बालबालिकालाई उक्त खोप लगाउने कार्यक्रम रहेको स्वास्थ्य शाखाका ठाकुर खनालले जानकारी दिए ।

बुधबार पत्रकार सम्मेलन गर्दै उक्त कार्यक्रमको बारेमा जानकारी दिदै १४ दिनमा ७३ हजार ८ सय २ जना बालबालिकालाई टाइफाईड रोग विरुद्धको खोप दिन थालिएको उनले बताए । १५ महिनादेखि २३ महिनासम्मका २९ सय ७८ जना र २ बर्षदेखि १५ बर्षसम्मका ७० हजार ८ सय १५ जनालाई खोप लगाउने कार्यक्रम रहेको छ । नगरका एक सय बढी स्वास्थ्यकर्मीहरु परिचालन भई विद्यालयमै पुगेर खोप लगाउने गरी स्वास्थ्यकर्मीहरुलाई तालिम दिइएको छ ।

१९ वटै वडाका स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरु प्रत्येक विद्यालयमा पुगेर खोप लगाउने छन् । कार्यक्रममा नगर प्रमुख नरुलाल चौधरीले टाइफाईड रोग विरुद्धको खोप कार्यक्रमलाई व्यवस्थित ढंगले सञ्चालन गर्न गराउन जनप्रतिनिधि, विद्यालय र स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिएका छन् ।

वडा स्तरका स्वास्थ्य संस्थाहरुले त्यस वडा भित्रका विद्यालयका प्रअ सहितको बैठक बसालेर खोप कार्यक्रमको बारेमा जानकारी दिने कार्यक्रम रहेको छ । यस अभियानमा छुटेकाहरुलाई अर्काे महिनादेखि नियमित खोप कार्यक्रम चल्ने समेत खनालले जानकारी दिए ।

प्रकाशित मिति : २०७८ चैत्र १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस