स्थानीय तह निर्वाचन : साढे २ लाख बढी सुरक्षाकर्मी परिचालन हुँदै

दाङ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि विभिन्न सुरक्षा निकायका २ लाख ५० हजार बढी सुरक्षाकर्मी परिचालन गरिने भएको छ । सरकारले स्थानीय तह निर्वाचनका लागि एकीकृत सुरक्षा योजना बनाएपछि हाल सुरक्षा निकायबाट खटनपटनका लागि आवश्यक तयारी भइरहेको हो ।

स्थानीय तह निर्वाचनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागबाट सुरक्षाकर्मी खटाइँदै छ । यसैगरी म्यादी प्रहरी पनि भर्ना गरेर खटाइँदै छ । प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार नेपाल प्रहरीबाट ६२ हजार बढी प्रहरी खटाइँदै छ ।

यस्तै, म्यादी प्रहरी १ लाख खट्नेछन् । सशस्त्र प्रहरीबाट ३२ हजार, सेनाबाट ७० हजार सुरक्षाकर्मी खटनपटनको तयारी भइरहेको छ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि मतदानस्थल र मतदानकेन्द्रको टुंगो लगाएपछि सबै सुरक्षा अंगहरू आआफ्नो तयारीमा अघि बढेका हुन् । आयोगले देशभर १० हजार ७ सय ५६ मतदानस्थल र २१ हजार ९ सय ५५ मतदानकेन्द्र कायम गरिएको जनाएको छ ।

प्रकाशित मिति : २०७८ चैत्र १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस