दाङमा लाइसेन्स प्राप्त २७२ हतियार

दाङ । दाङमा लाइसेन्स प्राप्त हतियारहरू २७२ वटा रहेका छन् । तत्कालिन गाउँ पन्चायत र अहिलेको गृह मन्त्रालयसँग स्विकृत लिइएका हतियारहरूको संख्या जिल्लामा २७२ वटा रहेको जिल्ला प्रहरी कार्यालय दाडले जनाएको छ ।
प्रहरीका अनुसार हालसम्म जिल्लामा १२ बोर, दुईनाले १४९ थान, १२ बोर एकनाले ७० थान, पेस्तोल ६ थान, २२ बोर राइफ ३८ थान, हावादारी बन्दुक २ थान र भरुवा बन्दुक ७ थान हतियार रहेको तथ्यांक छ ।
उक्त हातहतियारहरूको दुरूपयोग बढ्न सक्ने र स्थानीय तहको निर्वाचनमा सुरक्षा चुनौती थपिन सक्ने भन्दै बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई व्यवस्थित बनाउनका लागि जिल्ला प्रशासन कार्यालय दाङले आफूसँग भएको हातहतियार बुझाउन्र निर्देशन दिएको छ । तर हातहतियार बुझाउने पक्षमा सम्बन्धित निकाय तथा व्यक्तिहरू मौन रहेका छन् ।
२ सय ७२ को संख्यामा हातहतियारको लाइसेन्स लिएको भएपनि हालसम्म कुनैपनि व्यक्ति, राजनैतिक दलहरूले हातहतियार नबुझाएको जिल्ला प्रशासन कार्यालय दाङले जानकारी दिएको छ । हातहतियार समयमै नबुझाउँदा निर्वाचनको समयमा सुरक्षा चुनौती बढ्ने प्रशासनको भनाइ छ ।