परिक्षार्थीलाई बासको समस्या भए सभागृहमा बस्न दाङ उद्योग वाणिज्य संघको अपिल
घोराही । शिक्षा आयोगको परिक्षाका कारण दाङका होटेल तथा गेस्ट हाउस आगन्तुकले भरिएर कोठा नपाउने समस्या भएपछि दाङ जिल्ला उद्योग वाणिज्य संघले अस्थायी रुपमा बासको व्यवस्थापन गरेको जनाएको छ ।
शिक्षा आयोगले स्थायी शिक्षकको लागि आजदेखि १९ गतेसम्म पहिलो प्रश्नपत्रको परीक्षा लिन भन्दै दाङमा परीक्षा केन्द्र तोकेपछि अहिले दाङका होटल तथा गेस्ट हाउस भरिभराउ भएका छन् । जसले गर्दा बाहिरबाट आउने आगन्तुकहरुलाई कोठा पाउन मुस्किल भएको छ ।
जिल्ला बाहिरबाट आउने आगन्तुकलाई होटेल तथा गेस्ट हाउसमा कोठा नपाउने समस्या हुन थालेको भन्दै हालै निर्माण गरिएको सभा गृहको दोश्रो तलाका विभिन्न कोठालाई बासको रुपमा प्रयोग दिने निणर्य भएको दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीले जानकारी दिए ।
उनका अनुसार कोठा नपाएर समस्यामा परेका कोही भए संघमा सम्पर्क गरी बासको रुपमा सभा गृहका कोठा प्रयोग गर्न सक्नेछन् । मावि र निमाविको लुम्बिनी प्रदेश स्तरीय परीक्षा केन्द्र दाङमा राखिएको भने प्राविको लागि दाङको परीक्षा केन्द्र बाँके तय गरेको छ ।
अहिले जिल्लाको घोराही, लमही र अन्य क्षेत्रका होटेलहरू भरिएका छन् । अहिले होटेलमा बास बस्नका लागि कोठा नपाउने समस्या आएपछि उद्योग वाणिज्य संघले हालको समस्यालाई ध्यानमा राख्दै बासको व्यवस्थापन गरिदिएको जनाएको छ ।