युद्ध संग्रहालय बनाउने कहिले ?

दाङ । तत्कालीन सरकार र माओवादी बीच भएको विस्तृत शान्ति सम्झौतापछि २०६४ साल मंसीर २५ गते दाङको तुलसीपुर उपमहानगरपालिका १९ संक्राममा जनमुक्ति सेनाको दीर्घ स्मृति ब्रिगेड अन्तर्गतका तीन बटालियन सहितको दुई हजार जनमुक्ति सेना बस्न थाले । जनसेनाको नेपाली सेनामा समायोजनापछि लामाखोला महिला सामुदायिक वन क्षेत्रमा दश विगाहा क्षेत्रफलमा फैलिएको तत्कालीन माओवादी जनसेनाको शिविरको संरचना सुरक्षाका लागि सशस्त्र प्रहरी २०६८ साल फागुन २७ गतेदेखि खट्यो तर, ठिक १ वर्षपछि फागुन १ गतेदेखि सशस्त्र प्रहरी बस्न छोडेपछि हाल उक्त व्यारेक अलपत्र र सुनसान बनेको छ । ब्यारेक बस्दा बनेका संरचना अहिले जिर्ण बन्दै गैरहेका छन् ।

दुई हजार बढी जनमुक्ति सेनाको बसोबाससहित शुरु भएको ब्यारेकलाई अहिले गाउँलेले चौकीदारी गर्ने अवस्थामा पुगेको छ । जनमुक्ति सेना समायोजनपछि सशस्त्र प्रहरी बस्दै आइरहेको उक्त ब्यारेक सशस्त्र प्रहरीले सुरक्षा गर्न छोड्दा गाउँलेहरु नै त्यसको पहरामा जुटेको स्थानीय विभिषण रोकाले बताए । ब्यारेकभित्र रहेका संरचनाहरु संरक्षणका लागि गाउँलेले महिनावारी पैसा उठाउँदै तीनजना चौकीदारसहित सुरक्षा दिएका थिए । ‘राज्यले संरक्षण गर्न छोड्यो, भएका संरचना जोगाउन गाउँले कस्सिएका छौं’ उनले भने ।

काठपात, ढुंगा इट्टा, टिन, पाइपलगायतका सरसामान हराउन सक्ने भन्दै गाउँलेहरु उक्त ब्यारेकको सुरक्षामा खटिए पनि नियमित पैसाको जोहो नभएपछि अहिले ब्यारेक नै अलपत्र अवस्थामा छ । जनमुक्ति सेना ब्यारेकका लागि करोडभन्दा बढीको लगानी लागिसकेकाले राज्यले यसलाई विस्थापित गर्ने भन्दा व्यवस्थित गराउनेतर्फ लाग्नुपर्ने उनको भनाई छ । ब्यारेकको सुरक्षामा खटिएको सशस्त्र प्रहरी बल ज्वालामाई गणले उक्त ब्यारेकको सम्पूर्ण संरचना तुलसीपुर उमहानगरपालिकालाई हस्तान्तरण गरेको जनाएको छ ।

सशस्त्र प्रहरी र तुलसीपुर उमहानगरपालिका बीच भएको दोहोरो हस्ताक्षरसहितको पत्रमा जस्ताका छाना भएको इट्टाका घर ३१ वटा छन् । जसमा तीन वटाको झ्याल ढोका केही छैनन् । जस्ताका छाना भएको ढुंगा माटोका चारवटा घर छन्, जसमा एउटा भत्किएको छ । जस्ताका छवटा घर, डिसिमेन्टल घर दुई जसको छानो छैन । पक्की शौचालय १३ वटा छन् । जसका ढोका छैनन् । जस्ताका शौचालय पाँचवटा, काठको घर एउटा, ड्युटी पोष्ट १२ वटा, पक्की पानी ट्याकी पाँच, धारा आठ, रिजर्व ट्यांकी एक, प्रवेशद्वार एक र ग्यारेज एक रहेका छन् । जसको जिम्मेवारी तुलसीपुर उपमहानगरपालिकालाई दिइएको छ ।

तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले तत्कालीन माओवादी जनसेनाको ब्यारेक संक्रामलाई राष्ट्रिय क्रान्ति संग्रहालयका रुपमा विकास गर्ने तयारी भइरहेको बताउँछन् । उपमहानगरपालिकाले उक्त ब्यारेकको जिम्मेवारी लिएसँगै उक्त ब्यारेकलाई संग्रहालय बनाउने गृहकार्य भइरहेको उनको भनाइ छ । युद्ध अध्ययन, युद्ध पर्यटन, ऐतिहासिक युद्धस्थलका रुपमा तत्कालीन ब्यारेकलाई संग्रहालयका रुपमा पुनःनिर्माण गर्नेगरी योजना बनेको उनको भनाई छ । कुनै समय ब्यारेकभरि माओवादीका जनसेना परेड खेल्दै हुन्थे, वातावरण सैनिक इलाका जस्तै थियो । गाउँघरको वातावरण अर्कै देखिन्थ्यो । २०६२÷६३ को जनआन्दोलनपछि सरकारले माओवादी जनसेना राख्नका लागि करोडौं खर्चिएर ब्यारेकमा भौतिक संरचना निर्माण गर्यो ।

२०६४ देखि २०६८ सालसम्म सक्राममा रहेको लामाखोला सामुदायिक वन क्षेत्रको १५ विगाहा क्षेत्रफलमा निर्माण गरिएको पाँचौं डिभिजन अन्तर्गत रहेको दीर्घ स्मृति बिग्रेडका भौतिक संरचना अहिले प्रयोगविहीन मात्र छैनन् यत्रतत्र छरिएका छन् । बिग्रेड कमाण्डरको नेतृत्वमा शुरुमा २५ सय र बहिर्गमनपछि १४ सय माओवादी जनसेना बसोबास गर्दै आएका थिए । २०६८ सालमा समायोजन भएपछि २०६८ सालदेखि २०७५ सालसम्म सशस्त्र प्रहरीले सुरक्षा एवम् संरक्षण गर्दै आएको थियो । २०७५ साल फागुन १ गते सशस्त्र प्रहरीले तुलसीपुर उपमहानगरपालिकालाई ती सामग्री हस्तान्तरण गरेको थियो ।

स्थानीय तहको निर्वाचन भएको पाँच वर्ष पुग्नै लाग्दा क्रान्ति संग्रहालयको डिपिआर निर्माण बाहेक कुनै काम भएको छैन । निर्वाचनका क्रममा त्यस क्षेत्रलाई युद्ध संग्रहालय निर्माण गर्ने चुनावी घोषणापत्रमा उल्लेख गरिएको थियो । पमहानगरपालिकाले समेत वडा कार्यालय मार्फत स्थानीयवासीहरुलाई उक्त ब्यारेक हस्तान्तरण गरेको बताउँछ । तुलसीपुर १९ सक्रामका सोमराज गौतमका अनुसार सशस्त्र प्रहरी हुँदा त्यसक्षेत्रका भौतिक संरचना संरक्षित अवस्थामा थिए तर, संरक्षण समितिलाई हस्तान्तरण गरेपछि त्यहाँ रहेका घरका जस्तापाता, काठ, ईटा चोरी भएका छन् ।

तुलसीपुर उपमहानगरपालिका १९ का अध्यक्ष रामबहादुर योगीका अनुसार वडासदस्य केशर पुनको संयोजकत्वमा ब्यारेक संरक्षण समिति गठन गरिएको छ । ब्यारेक रेखदेख गर्नका लागि उपमहानगरपालिकाले तलब भत्ताको व्यवस्था गर्ने गरी एकजना हेरालु समेत राखिएको छ । हेरालुलाई दिउँसोको समयका लागि मात्रै राखिएकाले रातको समयमा भौतिक संरचनाका सामग्रीहरु चोरी हुने गरेको संरक्षण समितिका सदस्य विभिषण रोकाले जानकारी दिए । संरक्षण समितिका सदस्य रोकाका अनुसार त्यसक्षेत्रमा रहेका ६५ वटा घर, खेल मैदान, शौचालय, विद्युत पोल, तार प्रयोगविहीन अवस्थामा रहेका छन् । घरमा रहेका जस्तापाता हावाहुरीले उडाउने र संरचना मर्मतका लागि कुनैपनि सरकारी निकायबाट बजेट प्राप्त नभएकाले ब्यारेकको एउटा घरमा जस्तापाता र काठ राखिएको छ । ब्यारेकमा निर्माण गरिएको खानेपानी बाहेक अन्य कुनै वस्तु स्थानीयले उपयोग गरेका छैनन् ।

विगतमा ब्यारेकमा खानेपानीका लागि ल्याइएका मुहानहरु स्थानीयले खानेपानी समिति मार्फत दर्ता गरेका छन । तीमध्ये एउटा मात्रै मुहानको पानी उपयोगमा ल्याइएको छ । २५ वटा धाराको पानी ४० घरधुरीले उपयोग गर्दै आएका छन् । संरक्षण समितिका सदस्य रोकाका अनुसार डिपिआरमा वनक्षेत्र रहेकाले मिनी चिडियाखाना, खोला रहेकाले हाइड्याम, पिकनिक स्पट, क्रान्ति संग्रहालयका लागि युद्धसम्बन्धी सामग्री, बाल उद्यान निर्माण गर्ने कुरा समावेश गरिएको छ ।

त्यसक्षेत्रमा विगतमा फूटबल, भलिबल खेल्न निर्माण गरिएका खेल मैदानलाई वडास्तरीय खेल मैदान निर्माण गर्ने भनिए पनि अझै व्यवस्थित खेल मैदान हुन नसकेको स्थानीय युवा रामबहादुर पौडेल बताउँछन् । नेकपा माओवादीबाट तुलसीपुर उपमहानगरपालिकामा प्रतिनिधित्व गर्ने कार्यपालिका सदस्य अमर नेपाली –माइकल) का अनुसार आर्थिक वर्ष २०७८÷७९ को बजेटमा त्यस क्षेत्रको भौतिक संरचना निर्माण, संरक्षणका लागि बजेट विनियोजन भएको बताउँछन् । ‘विगतमा माओवादीका केन्द्रीय तहका नेताहरुलाई समेत यस विषयमा जानकारी गराएका छौं, हामीलाई त्यो क्षेत्रको माया छ, पक्कै विकास गर्नका लागि पहलकदमी लिइनेछ’, नेपालीले भने ।

प्रकाशित मिति : २०७८ चैत्र ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस