वन ऐनका बारेमा छलफल

दाङ । लुम्विनी प्रदेश वन ऐन, २०७८ आईसकेपछि वन ऐन कार्यान्वयनका वारेमा सरोकार वालाहरु सँग छलफल गरिएको छ । सब डिभिजन कार्यालय राप्तीको आयोजनामा राप्ती गाउँपालिकाका अध्यक्ष, वडा अध्यक्ष, सामुदायिक वन समुहका अध्यक्षहरुसँग प्रदेश वन ऐन, २०७८ मा उल्लेख गरिएका विषयवस्तु बारे जानकारी गर्दै सहज कार्यान्वयनका लागि सव डिभिजन कार्यालय राप्तीले आब्हान गरेको छ ।
राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा राप्ती गाउँपालिका क्षेत्रका सामुदायिक वनक्षेत्रमा भएका राम्रा तथा गलत क्रियाकलापका बारेमा समेत छलफल गरिएको छ ।
नेपालको संविधान बमोजिम प्रदेशको एकल अधिकारको सूचीमा रहेको राष्ट्रिय वनको दिगो विकास, संरक्षण तथा वन पैदावारको सदपुयोग गर्न उपयुक्त वन व्यवस्थापन पद्धति अपनाई वन, वन्त्यजन्तु वातावरण, जलाधार एवं जैविक विविधताको संरक्षण, संवद्धनमा योगदान पुराउने भएकोले लुम्विनी प्रदेश वन ऐन, २०७८ आएको वन ऐनका बारेमा जानकारी गराएको सहायक वन अधिकृत विनोद कुमार शाहले जानकारी दिए ।
कार्यक्रममा डिभिजन वन कार्यालय मार्फत यस वर्ष सन्चालनमा आउने सामुदायिक वनमा वन संम्वद्र्धन क्रियाकलाप, वन भित्रको पत्कर ब्यवस्थापनबाट मल उत्पादन उद्यम सन्चालन, ताल तलैया तथा सिमसार क्षेत्रहरुको पुनरस्थापना निर्माण तथा संरक्षण, लोपोन्मुख बन्यजन्तुको बासस्थान संरक्षण, बृक्षारोपण तथा अतिक्रमण ब्यवस्थापन कार्यक्रमको बारेमा जानकारी गरिएको छ ।