आज विश्व पानी दिवस

काठमाडौं । प्रत्येक वर्ष मार्च २२ तारिखका दिन विश्वभर मनाइने विश्व पानी दिवस आज नेपालमा पनि विभिन्न जनचेतनाका कार्यक्रम गरी मनाइँदैछ। संयुक्त राष्ट्रसङ्घको आयोजनामा सन् १९९२ मा ब्राजिलको रियो द जेनेरियोमा भएको पर्यावरण र विकाससम्बन्धी महासभाले विश्व पानी दिवसको घोषणा गरेको हो। सन् १९९२ मा एजेण्डा २१ मा समाहित गरिएको पानी दिवसको रुपरेखालाई आत्मसाथ गर्दै सन् १९९३ देखि मार्च २२ तारिखका दिन विश्वभर यो दिवस मनाउन थालिएको थियो।

पञ्च तत्वमध्येको एक पानी सबै जीव र वनस्पतिका लागि आवश्यक मानिन्छ। पानी भएकै स्थानमा जीवन सम्भव हुन्छ। पानी नभएको स्थानमा जीवन सम्भव छैन। यसैले पानी नै जीवन हो भन्ने गरिन्छ। जीव र वनस्पतिका लागि जन्ममात्र पर्याप्त हुँदैन बाँच्नका लागि स्वच्छ पानी आवश्यक पर्छ। पिउने पानी स्वच्छ र सुरक्षित भयो भने ८० प्रतिशत रोग नै लाग्दैनन् भनिन्छ।

पृथ्वीको दुईतिहाइ भाग पानीले ढाकेको छ। तर सबै पानी पिउन योग्य छैन। समुद्र र महासागरको पानी नुनिलो छ। जसले पृथ्वीको ९७‍.५ प्रतिशत भाग ओगटेको छ। २.५ प्रतिशत पानीमात्र ताजा, स्वच्छ र पिउनका लागि योग्य छ। यसमध्येको ठूलो अंश अर्थात् १.७२ प्रतिशत पृथ्वीको उत्तरी र दक्षिणी ध्रुवमा हिउँको रूपमा रहेको छ। ०.७४ प्रतिशत भूमिगत स्रोतका रूपमा जमिनमुनि रहेको छ। जमिनको सतहमा रहेको ०.०४ प्रतिशत पानीमात्र मानवका लागि पिउन योग्य छ।

प्रकाशित मिति : २०७८ चैत्र ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस