एक लाख म्यादी प्रहरी भर्ना खुल्याे
काठमाडौं । प्रहरी प्रधान कार्यालयले स्थानीय तहको चुनावका लागि १ लाख म्यादी प्रहरी भर्ना गर्न आवेदन मागेको छ। कार्यालयले मंगलबार सूचना जारी गर्दै म्यादीका लागि आवेदन खोलेको हो। ४० दिनका लागि म्यादी प्रहरीमा भर्ती हुन इच्छुकले यही चैत ६ गतेदेखि ११ गतेसम्म आवेदन गर्न पाउनेछन्। म्यादी प्रहरीको आवेदन सबै जिल्ला प्रहरी कार्यालय र काठमाडौं उपत्यकाका प्रहरी परिसरमा दिन सकिनेछ। कार्यालयका अनुसार म्यादी भर्तीमा सुरक्षा निकायमा ०७८ साउन १ गतेपछि भर्नाका लागि आवेदन दिएर शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा सफल भएकालाई प्राथमिकता दिइनेछ। सामान्य लेखपढ गर्न सक्नेलेसमेत म्यादीमा भर्नाका लागि आवेदन दिन पाउने सूचनामा उल्लेख छ।
कार्यालयले यही चैत १५ गते म्यादी प्रहरीको छनोट शुरु गरिने र चैत २२ मा नतिजा प्रकाशन गरिने उल्लेख गरेको छ। म्यादीमा भर्ना हुन नेपाली नागरिक हुनुपर्ने, फौजदारी अभियोग नलागेको हुनुपर्ने, कुनै राजनीतिक दलको सदस्य नभएको, शारीरिक र मानसिक तन्दुरुस्त हुनुपर्नेलगायत मापदण्ड तोकिएका छन्। यसैगरी म्यादीमा भर्ती हुन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका पूर्वसुरक्षाकर्मीलाई प्राथमिकता दिने पनि सूचनामा उल्लेख गरिएको छ।
४० दिनको सेवाका लागि म्यादी प्रहरी जवानको आधारभूत पारिश्रमिक २२ हजार ६ सय ८० रूपैयाँ हुने र खाद्यान्नवापत एकमुष्ठ ७ हजार २ सय रूपैयाँका साथै पोशाक र अन्य सामग्री खरिदका लागि प्रतिव्यक्ति ६ हजार रूपैयाँका दरले थप रकम उपलब्ध गराइने बताइएको छ। यसैगरि चुनावमा खटिनेका लागि यातायात खर्चबापत थप १ हजार रूपैयाँ पनि दिइने जनाइएको छ।