राष्ट्रिय परिचय पत्र बनाउन सेवाग्राहीको थेगि नसक्नु भिड बढ्दै

दाङ । जिल्ला प्रशासन कार्यालय दाङमा राष्ट्रिय परिचय पत्र बनाउन सेवाग्राहीको थेगि नसक्नु भिड लागेको छ । अनियन्त्रित भिड बढ्न थालेपछि सेवाग्राहीहरुले आफ्नो सेवा लिन हप्तौ कुर्नु परेको गुनासो गरेका छन् ।

सरकारले भर्खरै प्रयोगमा ल्याएको विद्युतीय राहदानी ई–पासपोर्ट प्राप्त गर्न राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य रूपमा लिनुपर्ने बनाएपछि उक्त परिचयपत्र लिने मानिसको संख्या बढ्न थालेको हो । जसले गर्दा सीमित जनशक्ति र प्राविधिकको सहयोगमा काम गर्दा यसको चाप बढेको बताइएको छ । सेवा लिन हप्तौ दिनसम्म धाउँदा पनि आफुहरुलाई अलमलमा पार्ने काम भएको घोराही उपमहानगरपालिका वडा नम्बर ७ का प्रेमबहादुर बिकको गुनासो छ ।

बिहान ६–७ बजे नै जिल्ला प्रशासन कार्यालय पुगेर साँझ ५ बजेसम्म लाइनमा बसेर साझ रित्तै हात फर्कनु परेको धेरैले गुनासो गरेका छन् । जिल्लाको तीन ठाउँबाट सेवा दिने बताइए पनि अहिले जिल्ला प्रशासन कार्यालयमा सेवा लिन आउनेको संख्या धेरै छ ।

जिल्ला प्रशासन कार्यालयको लापरवाहीका कारण आफूहरुले समयमा सेवा पाउन नसकेको र टाठाबाठाले भनसुनका आधारमा पालो मिच्ने गरेको बंगलाचुली गाउँपालिका वडा नम्बर ३ श्रीबारीका प्रेम रानाको भनाई छ ।

समयमै सेवा पाउन नसकेका तथा घर टाढा भएकाहरुलाई यो सेवा लिन अझ समस्या भएको छ । दैनिक जसो सेवाका लागि धाउँदा धाउँदै दिन बित्न थालेपछि राती २ बजे नै सेवा लिन पुुग्नेहरु पनि बढ्दै गएका छन् । घोराही ५ धर्नाका अनिल नेपालीले बिहान सबेरै राष्ट्रिय परिचय पत्र बनाउन धाउन लागेका ३ दिन भएको बताए ।

राष्ट्रिय परिचय पत्रको लागि विवरण संकलन अभियानका कारण भिड बढेको प्रशासन कार्यालयले जनाएको छ । कर्मचारी दरबन्दी नै न्यून रहेको त्यसमा पनि दरबन्दी अनुसारको कर्मचारी नभएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए ।

प्रकाशित मिति : २०७८ चैत्र १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस