डेढ करोड ठगीको आरोपमा ठेकेदार अनुप पाण्डे पक्राउ

दाङ । डेढ करोड ठगीको आरोपमा ठेकेदार अनुप पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ। घोराही–तुलसीपुर चार लेन सडकखण्डका ठेकेदार पाण्डेलाई लुकीछिपी बसेको अवस्थामा केन्द्रीय अनुसन्धान व्यूरोले काडाँघारीबाट पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख(एसपी) सुरेश काफ्लेका अनुसार पाण्डेलाई जिल्ला प्रहरी कार्यालय दाङमा ल्याइदैछ।

उनले भने, ‘लुकीछिपी गरेको अवस्थामा केन्द्रीय अनुसन्धान व्यूरोले शनिबार बिहान पाण्डेलाई काठमाडौं काँडाघारीबाट पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय दाङमा ल्याइदैछ। ’ पाण्डेविरुद्ध जिल्ला प्रशासन कार्यालय दाङमासमेत विभिन्न व्यक्तिबाट झण्डै ७ करोड ठगी गरेको भन्दै उजुरी परेको छ।

केदार अनुप पाण्डे ठगी मुद्दाको जाहेरी परेपछि पक्राउ परेको प्रहरीले जनाएको छ। ठेकेदारको मनोमानीले घोराही–तुलसीपुर उपमहानगर जोड्ने चार लेन सडक अलपत्र अवस्थामा छ। दुई वर्षमा निर्माण हुनुपर्ने जिल्लाको मुख्य सडक अलपत्र बनेपछि सर्वसाधारण मर्कामा परेका छन्।

२०७६ असारबाट निर्माण सुरु भएको सो खण्ड सम्झौताअनुसार २०७८ वैशाखमा निर्माण पूरा भइसक्नुपर्ने भएपनि अगाडि बढ्न सकेको छैन। पाण्डे तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेका छोरा हुन्। अन्नपूर्णबाट

प्रकाशित मिति : २०७८ फाल्गुन २८ गते शनिवार
प्रतिक्रिया दिनुहोस