लुम्बिनी प्रदेशका ९ सयभन्दा बढी पत्रकारको दुर्घटना बिमा

दाङ । लुम्बिनी प्रदेशका ९ सय २५ जना पत्रकारको निःशुल्क दुर्घटना बिमा गरिएको छ । पत्रकारिता गर्ने क्रममा पत्रकारहरू भवितव्यमा परेको अवस्थामा आर्थिक सहयोग पुग्ने गरी निःशुल्क दुर्घटना बिमा गरिएको हो । लुम्बिनी प्रदेश सरकारको ७ लाख लगानीमा पत्रकारहरूका लागि आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयमा त्रिपक्षीय सम्झौता गरिएको छ ।

आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय, राष्ट्रिय बिमा कम्पनी लिमिटेड भैरहवा र पत्रकार महासंघ लुम्बिनी प्रदेशबीच सम्झौता गरिएको हो । मन्त्रालयको तर्फबाट उपसचिव दामोदर भण्डारी, बिमा कम्पनी भैरहवा शाखाका प्रमुख सुजन न्यौपाने र पत्रकार महासंघ लुम्बिनीका अध्यक्ष बसन्त गिरीबीच कानुनी प्रक्रिया पु¥याएर सम्झौता गरिएको हो ।

सोही कार्यक्रममा लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले पत्रकारहरुसँग समन्वय गरेर काम गर्ने प्रतिवद्धता जनाए ।

लुम्बिनी प्रदेशका १२ जिल्लामा १७ सयभन्दा बढी पत्रकार भएपनि यस अघि जिल्लाको बिमा पोलिसीमा सहभागी नभएका पत्रकारहरुको मात्र पहिलो चरणमा बिमा गरिएको पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव विक्रम खड्काले जानकारी दिए ।

प्रकाशित मिति : २०७८ फाल्गुन २८ गते शनिवार
प्रतिक्रिया दिनुहोस