बाघको आक्रमणबाट एक पुरुषको मृत्यु

बाके । बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ फत्तेपुरमा बाघले मान्छेलाई फेरी आक्रमण गरेको छ । राप्ती सोनार ६ निवासी करिव ६० वर्षीय धनबहादुर चलाउनेलाई शनिबार बिहान बाघले आक्रमण गरी मारेको हो । करिव महिनाअघि पनि वडा नम्बर ६ कै २९ वर्षीया चाँदनी थारु र राप्ती सोनारी ४ पर्सोना निवासी ५३ वर्षीया लिला बिष्टलाई पनि बाघले आक्रमण गरी मारेको थियो ।

बाघले शनिबार बिहान फत्तेपुरस्थित राप्ती पीडित सामुदायिक वन अन्तरगत पर्ने सिक्टा सिचाइँ आयोजनाको पुर्वी नहरको छेउमा ६० वर्षीय चलाउनेलाई आक्रमण गरेको राप्ती सोनारी ६ का स्थानीय बासिन्दा प्रदिप पौडेलले जानकारी दिए । उनका अनुसार बाघले चलाउनेलाई करिव ५ सय मिटर जंगल भित्र लगेको थियो ।

गाउँबाट ठुलो संख्यामा गाउँलेहरु पुगेपछि बाघले शवलाई छाडेर भागेको छ । उनले टेलिफोनमा भने, ‘अहिले हामी घटनास्थलमै छौं, शव पनि फेला परिसकेको छ, बाघ अहिले जंगलतिर भागेको छ ।’ सामुदायिक वन समुहले उपभोक्ताका लागि शनिबार दाउरा, घाँस खोलेको थियो ।

दाउरा, घाँस काट्नका लागि सामुदायिक वन क्षेत्रमा करिव २५÷३० जनाको संख्यामा शनिबार बिहाान जंगलमा गएका थिए । बाघलाई देखेपछि केहीले रुखमा चढेर ज्यान जोगाउन सफल भएको बताइएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले पनि फत्तेपुरमा बाघले फेरी मान्छे मारेको पुष्टी गरिसकेको छ ।

प्रकाशित मिति : २०७८ फाल्गुन ७ गते शनिवार
प्रतिक्रिया दिनुहोस