३३ प्रतिशतले घट्यो मह उत्पादन

सल्यान । सल्यानमा ३३ प्रतिशतले महको उत्पादन घटेको छ । भारी मात्रामा मह उत्पादनमा गिरावट आएपछि यहाँका मौरीपालक कृषक मारमा परेका छन । गत वर्षभन्दा यो वर्ष ३३ प्रतिशतले मह उत्पादनमा गिरावट आएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ ।

उत्पादनको क्षेत्रफल बढे पनि चिउरी फूल्ने समयमा लगातार वर्षा हुँदा उत्पादनमा कमी आएको कार्यालयका सूचना अधिकारी रेशमकुमार बस्नेतले जानकारी दिए ।

गत असोज कात्तिक महिनामा धेरै पानी परेपछि चिउरी फूलको रस र अन्य फूलको रस बगाउँदा मह उत्पादन घटेको कृषक लोकेन्द्र वलीले बताए ।

विगतका वर्षहरूमा ८ देखि १० क्विन्टलसम्म मह बिक्री गरेका वलीले यो वर्ष मुस्किलले २ क्विन्टल जति मात्र भएको बताए । जिल्लामा २ हजार ३ सय ७० हेक्टर क्षेत्रफलमा मौरी पालन हुँदै आइरहेको छ ।

कृषि विकास कार्यालयले कालिमाटी गाउँपालिकालाई मौरी ब्लक क्षेत्रका रूपमा विकास गरेको छ । किसानलाई अनुदान तथा प्राविधिक सहयोग गर्दै आए पनि उत्पादन भने घट्दै गइरहेको छ ।

प्रकाशित मिति : २०७८ माघ २९ गते शनिवार
प्रतिक्रिया दिनुहोस