दाङ आगलागी घटनाः दुई सन्तान बचाउन खोज्दा अर्घाखाँचीका अलीको ज्यान गयो

बुटवल । विहिवार राती दाङ्गको तुल्सीपुर–५ को एक घरमा भएको आगोलागीमा परि मृत्यु भएका ५ जना मध्ये तीन जना अर्घाखाँचीका बासीन्दा भएको खुलेको छ ।

त्यस वडाका वडाध्यक्ष बिरेन्द्र कुमार शाहले भने–‘ मेरो घर यहि नजिकै पर्दछ । मृत्यु हुने मध्ये एक परिवार गत पाँच बर्ष देखि तुल्सीपुरमा आएर ब्यापार गर्न थालेको मैले बुझेको छु । उनिहरुको पुर्खेर्यौली घर पुर्व अर्घाखाँची हो भन्ने मैले थाह पाएको छु । अहिले मृतकहरुको परिवार कोही पनि यहाँ छैनन् । निकै संघर्ष गरेर यहाँ सम्म आई पुगेको परिवारले ठुलो ज्यु–धनको क्षति ब्यहोरेको छ । ’

मृतक ३७ बर्षीय नजरदिन अली र उनका दुई छोरा छोरीको पुर्खेयौंली घर अर्घाखाँचीको छत्रदेव गाउँपालिका–२ बलकोट भएको मृतक अलीका साला असगर अली खानले जानकारी दिए ।उनका अनुसार मृतक अलीकी १४ वर्षीया छोरी सजिता खातुन र ५ बर्षीया छोरा अविददिन अलीको मृत्यु भएको हो । अर्का मृतक दुई जना बालकहरुको पुर्खेयौली घर सुर्खेतमा हो ।

त्यस आगोलागीमा परि सुर्खेतका १५ बर्षीय मसिन बकस र १२ बर्षीय हसन बकसको पनि मृत्यु भएको थियो । मृतक दुई बालकमा बाबु हुसेन बकसले तुल्सीपुर बजारका बकस बहादुर केसीको चार तले घरमा इरम फुटवेर जुत्ता चप्पल गोदाम सञ्चालन गर्दै आएका थिए । सोही घरको तेश्रो तलमा सोही बजार लाईनको अर्को सटरमा पाकिजा श्रृङ्गार पसल गर्दै आएका अर्घाखाँचीका नजरदिन अलीले डेरा लिएर बसेका थिए ।

अर्घाखाँची मै घर भएका उनका साला असगर अली खान भन्छन्–‘राती त्यस्तै दुई बजेको समयमा एक्कासी आगोलागी भएको थाह पाए पछि भिनाजुले पहिला बुवा , दिदी ( श्रीमति ) र भान्जा (जेठो छोरा ) लाई कोठाबाट निकालेर घरको तलाबाट अर्को घरको तलाको मानिसहरुलाई तान्न लगाएर बचाउनु भए छ ।

अरु दुई छोरा छोरीलाई बचाउनका लागि फर्केर कोठा तिर जाँदा अँध्यारो मुस्लोमा कोठा नचिनेर यहि होला छोरा छोरी सुतेको कोठा भन्दै पस्दा बाथरुममा छिर्नु भए छ । त्यही बाथुरुममै उहाँको शव फेला परेको थियो । ’ उनका अनुसार नजरदिनु अलीले ६ बर्ष अघि सम्म कपिलवस्तुको चन्द्रौटा बजारमा गुडलक हार्डवेर पसल राखेका थिए । पाहडी जिल्ला अर्घाखाँची देखि संघर्ष गरेर करोडौंको मालिक भएका अली परिवारले बुटवल –५ को विकास पथमा घर बनाएका थिए ।

साला असगर अलीखानले भने–‘ ,हिजै हामी दिदीको घर बुटवलमा आएका छौ । हाम्रो मुस्लीम धर्म संस्कार अनुसार तीन दिनमा काजकिरिया सकिने भएकोले भोली निस्कीदै छौं । मृतक दुई बालक बकसको परिवार भने आज तुल्सीपुर पुगेर काजकिरिया गर्दैछन भन्ने जानकारी पाएका छौं ।’उनि थप्छन्–‘ उहाँले आफ्ना बाबु हाजी रहमद मिया , ३६ बर्षीया श्रीमित लैला अली र १५ बर्षीय जेठा छोरा सजित मियालाई बचाउन सफल भए पनि आफु र दुई छोरा छोरीको ज्यान गएको छ ।

उनका अनुसार त्यस घरमा हसन बकसको जुत्ता चप्पल गोदामका अलवा अर्को एक गोदाम पनि थियो । ती दुई गोदाम जलेर नष्ट हुँदा प्रति गोदाम ३ करोडका दरले ६ करोड र मृतक उनका भिनाजुको धनमाल करिव एक करोड सहित ७ करोडको क्षति भएको अनुमान छ । मिटर बक्स सर्ट भई आगोलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको ईलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रमुख श्यामु अर्यालले बताए । ग्लोबल आवाजबाट साभार

तस्वीरः मृतक अर्घाखाँचीका नजरदिन अली र उनका दुई छोरा छोरी

प्रकाशित मिति : २०७८ माघ २९ गते शनिवार
प्रतिक्रिया दिनुहोस