जाडोमा बल्याङ्केट पाउँदा जेष्ठ नागरिकहरु खुसी

गढवा । उमेरले १ सय १ बर्ष टेकेका गढवा १ वनबारीका बुदे कुमाल हिडडुल गर्न सक्दैनन् । गाउँपालिकाले घरमै आएर जाडोमा स–सम्मान ब्लाङ्केट दिदा उनी धेरै खुसी भएको बताए । बुदे कुमाल जस्तै गढवा १ कै ८६ बर्षिय गंगादेवि थापा पनि जाडोको बेला गाउँपालिकाले वडा कार्यालयमा बोलाएर कम्बल दिदा खुसी देखिन्थिन् ।
गढवा गाउँपालिका वडा नं. ६ बनकट्टीका ९२ बर्षिय गुरुप्रसाद अहिर र वडा नं. ६ कै ९६ बर्षिय कमारी दमाई वडा कार्यालयमा ब्लाङ्केट पाइन्छ भन्ने खबर पाएर लौरो टेकेर आफन्तको साहारामा वडा कार्यालय आए । कार्यालयमा आएपछि गाउँपालिकाका उपाध्यक्ष शान्ती चौधरी र वडा अध्यक्ष बालचन्द्र ठकूरी हमालको हातबाट ब्लाङ्केट पाएँ । जाडोको बेला तातो कब्बल पाउँदा खुसी लागेको छ उनीहरुले भने । गढवा ४ का कालिचरण चौधरी ८८ बर्ष पुगको छन् । वडा कार्यालयमा आएर गाउँपालिकाले कम्बल दिन थालेको खबर थाहा पाएपछि उनी हौसिदै वडामा आए । आफन्त र लौरोको साहारामा ब्लाङ्केट पाइने खबरले वडा कार्यालयमा आएका उनी जस्तै धेरै जेष्ठ नागरिकहरु गाउँपालिकाको तर्फबाट ब्लाङ्केट पाउँदा खुसी हुँदै घर फर्किए ।

गढवा गाउँपालिकाले चालु आब को बजेटबाट ८५ बर्षभन्दा माथीका जेष्ठ नागरिकहरुलाई वडा कार्यालयहरुमा बोलाएर सम्मान गर्दै ब्लाङ्केट वितरण गरी रहेको छ । पचासी नाघेका जेष्ठ नागरिकहरुको सम्मान स्वरुपःयो कार्यक्रम राखिएको र जेष्ठ नागरिकहरुलाई सम्झिनु पर्ने सरकारको दायित्व भएको गाउँपालिकाका अध्यक्ष सहजराम यादवले बताए । जस अन्तर्गत वडा नं. १ मा १४ जना, वडा नं. २ मा ६ जना, वडा नं. ३ मा १३ जना, वडा नं. ४ मा १० जना, वडा नं. ५ मा २२ जना, वडा नं. ६ मा १८ जना र वडा नं. ७ मा ८ जना गरि कुल ९१ जना ८५ बर्ष माथीका जेष्ठ नागरिकहरुलाई ब्लाङ्केट वितरण गर्ने योजनाका साथ काम अगाडी बढाई रहेको छ । धेरै जसो वडाहरुमा वितरण गरिसक्यौ, अब २ नम्बर र ७ नम्बरमा बाँकी छ, महिला तथा वालवालिका शाखाका कर्मचारी पे्ररणा चन्दले भने । जेष्ठ नागरिकहरुलाई सम्मान स्वरुप जाडोमा ब्लाङ्केट वितरणको कार्यक्रम राखेका हौं गाउँपालिकाका उपाध्यक्ष शान्ती चौधरीले भनिन् । वडा नं. ८ मा भने ८५ बर्ष माथीका जेष्ठ नागरिकहरु नभएका कारण यो बर्ष वितरण गरिएन उनीले भनिन् ।
