आजदेखि मौसममा सुधार, भोलिदेखि दिन घमाइलो हुने

घोराही । आज दिउँसोदेखि मौसममा सुधार हुने मौसमविद्ले बताएका छन् । अस्ति र हिजो वर्षा तथा हिमपात गराएको पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कम हुन थालेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् । अस्ति पश्चिम भेगमा र हिजो देशैभरि वर्षा र हिमपात भएको थियो ।
अहिले देशका केही ठाउँमा सामान्य बद्ली रहेको र दिउँसोदेखि मौसम सफा हुने मानन्धरले बताइन् । आज पहाडी भेगका केही ठाउँमा बद्ली भएर सामान्य वर्षा भए पनि ठूलो पानी पर्ने सम्भावना भने नरहेको उनीले बताइन् ।
हिजो परेको पानीको प्रभावले भोलि बिहान हुस्सु लागे पनि त्यसपछि मौसम खुल्ने उनीको भनाइ छ । भोलिदेखि मौसम खुलेर घाम लाग्ने र न्यानो सुरु हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अस्ति र हिजो भएको हिउँदे वर्षा र हिमपातले जनजीवन प्रभावित भएको छ ।
प्रकाशित मिति : २०७८ माघ २२ गते शनिवार
प्रतिक्रिया दिनुहोस