तुलसीपुर ६ मा रहेको खैरावाङ भुवनेश्वरी मन्दिरको उद्घाटन
दाङ । तुलसीपुरमा रहेको खैरावाङ भुवनेश्वरी मन्दिरको उद्घाटन गरिएको छ । तुलसीपुर ६ खैरावाङ भगवती टोलमा रहेको मन्दिरको शुक्रबार एक कार्यक्रमका बिच तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रममा बोल्दै मेयर पाण्डेले टोलवासीले मन्दिर निर्माणमा महत्वपूर्ण योगदान दिएको भन्दै उनले यो मन्दिरले गाउँ टोल छिमेकमा सकारात्मक सन्देश दिने समेत बताए । उनले टोलवासीले मन्दिरको स्थापना गरेर पुर्खाहरूले देखाएको कुरालाई पूर्ण जागरण गरेको भन्दै प्रशंसा समेत गरे ।
उनले ऋषिमुनीका सन्तानहरू आज सिसी मुनी भएर बिग्रिदै गएको भन्दै मन्दिरको पवित्रताले सबैलाई पूर्वी दर्शनतर्फ लैजाने र समाज परिवर्तनमा सहयोग पुर्याउन पनि बताए । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष इन्द्र बहादुर बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा संविधान सभा सदस्य बुद्धिराम भण्डारी, वडा नं. ६ का वडाध्यक्ष नवराज लामिछाने, संस्थापक अध्यक्ष डम्बर कुमारी सेन, प्रेम बहादुर डाँगी, लाल बहादुर केसीले मन्तव्य राखेका थिए ।
उनीहरूले मन्दिरले टोलको प्रतिष्ठा बढाएको भन्दै यसलाई संरक्षण गर्नु पर्ने बताएका थिए । त्यस्तै उक्त मन्दिरका देवी देउताको प्राण प्रतिष्ठा गरी भक्तजनबाट बजार परिक्रमा गरिएको थियो । त्यस्तै ३३ लाखको लागतको उक्त मन्दिर निर्माण भएको समितिका अध्यक्ष बुढाथोकीले जानकारी दिए ।
उनका अनुसार मन्दिर निर्माणको लागि सहयोग गर्ने विभिन्न ब्यक्तिहरूलाई प्रमाणपत्र सहित सम्मान पनि गरिएको थियो । उक्त कार्यक्रमको सञ्चालन समान बाबु डाँगीले गरेका थिए ।