पारिश्रमिक थप नगरेको भन्दै कर्मचारी आन्दोलित

दाङ । नेपाल विद्यालय कर्मचारी परिषद तुलसीपुरले तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेलाई ध्यानाकर्षण पत्र बुझाएको छ । तुलसीपुर नगर समितिका अध्यक्ष मिना भण्डारी र सचिव चेतनराज बस्नेतको नेतृत्वमा गएको विद्यालय कर्मचारी टोलीले नगरप्रमुख पाण्डेलाई माग सहित ध्यानाकर्षण पत्र बुझाएको हो ।

चालुआर्थिक वर्षमा स्थानीय सरकारले विद्यालय कार्यालय सहयोगी र वालविकास शिक्षकहरुको सात हजार थप गरी पारिश्रमीक लागु गरेपनि आफुहरुको एक हजार पाँच सय मात्रै थप गरिएको भन्दै उनीहरुले आपत्ती जनाएका छन् ।

दाङका अन्य पालिकाहरुमा भने सम्बन्धित पालिकाले कार्यालय सहयोगी, वालविकास सहजकर्ताहरुको अनुपातमा विद्यालय कर्मचारीहरुको पनि सात हजारका दरले पारिश्रमीक थप गरेकोमा तुलसीपुर उपमहानगरपालिकामा यो लागु नभएको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

तुलसीपुर शिक्षा शाखाबाट आवश्यक बजेट विनियोजन हुनुको साथै शिक्षा समितिले समेत सिफारिस गरेको अवस्थामा कार्यपालिकाको बैठकले माग सम्वोधन नगरी पन्छिने काम भएको पत्रमा उल्लेख छ ।

आफुहरुको माग एक हप्ता सम्म पूरा नभए तुलसीपुर उपमहानगरपालिका कार्यालयमा तालाबन्दी गर्ने उनीहरुको चेतावनी छ । यता नगरप्रमुख पाण्डेले ध्यानाकर्षण पत्र बुझदै सम्वन्धित विद्यालयले त्यसको व्यवस्थापन गर्ने गरी कार्यपालिका बैठकले निणर्य गरेको प्रतिक्रिया दिए ।

प्रकाशित मिति : २०७८ माघ ५ गते बुधवार
प्रतिक्रिया दिनुहोस