तुलसीपुरमा थप २७ जनामा कोरोना पुष्टि, एक महिलाको मृत्यु

दाङ ।  तेस्रो लहरको कोरोना भेरियन्ट फैलिएसँगै दाङकी एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका ६ की ४१ वर्षीया महिला रहेको उपमहानगरका कोभिड १९ फोकल पर्सन विमल केसीले जानकारी दिए । उनका अनुसार ति महिलाको सोमबार दिउँसो उपचारको क्रममा बाँकेको भेरी अस्पतालमा मृत्यु भएको हो ।

उनलाई गत पुस ३० गते कोरोना भाइरस पुष्टि भएको थियो । त्यस्तै फोकल पर्सन केसीले तेस्रो लहर शुरु भएसँगै जिल्लामा पहिलो पकट कोरोना संक्रमणबाट मृत्यु भएको समेत बताए । उनले ति महिलाले कोरोनाको कुनै पनि खोप नलगाएको जानकारी आफूलाई आएको समेत बताए ।

त्यस्तै सोमबार तुलसीपुरमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ५५ जना व्यक्तिको एन्टिजेन विधिबाट परिक्षण गर्दा २७ जनामा कोरोना पुष्टि भएको हो । हाल तुलसीपुर २२९ जना कोरोना सक्रिय संक्रमितहरु रहेका र ति मध्य ९ जना राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको कोरोना इकाइ अस्पतालमा भर्ना भएको उनले बताए ।

त्यस्तै आजै ३४ जना कोरोना मुक्त भएका छन्, । पछिल्लो समयमा तुलसीपुरमा ३४९ जना कोरोना संक्रमित भएका र ति मध्य हाल सम्म १२० जना कोरोना मुक्त भएको फोकल पर्सन केसीले जानकारी दिए ।

प्रकाशित मिति : २०७८ माघ ३ गते सोमवार
प्रतिक्रिया दिनुहोस