सल्यानमा समाधिस्थलको विवादले स्थानीयबीच द्वन्द्व

दाङ । सल्यानको बागचौर नगरपालिका ९ जलेखर्कमा चिहानको विषयमा स्थानीयवीच विवाद शुरु भएको छ । चिहानको विषयमा विवाद उत्पन्न हुँदा स्थानीयबीच द्वन्द्व देखिएको हो । जलेखर्कमा रहेको करिव सय वर्ष पुरानो समाधीस्थलका विषयमा स्थानीयहरुले एक आपसमा विवाद शुरु गरेका छन् ।

समाधिस्थल सोही ठाउँमा कायमै राख्ने कि स्थानान्तरण गर्ने भन्ने विषयमा गाउँलेहरु दुई पक्षमा विभाजित भएका छन् । एउटा पक्षले वर्षौं पहिलेदेखि प्रयोग गरिरहेको पितृकोटमा रहेको समाधिस्थल कायमै राख्ने भन्दै आएको छ भने अर्को पक्ष बस्ती विस्तार भएकोले समाधिस्थल गाउँभन्दा टाढा सार्नुपर्ने अडानमा छ । जलेखर्कमा अधिकांश परिवार दशनामी समुदायका छन् । उनीहरुमा मृत्युपछि समाधिष्ट गर्ने प्रचलन छ ।

आफूहरु मरेपछि बस्ने स्थायी घर नै समाधिस्थल भएकाले पुर्खाहरुको शव राखिएको ठाउँ सार्न नमिल्ने स्थानीय चक्रबहादुर कुँवर योगीले बताए । स्थानीयहरुको विवादपछि अमिन बोलाएर समाधिस्थलका लागि जग्गा छुट्याएको कुँवरले बताए ।

अर्कोपक्षले भने चिहान भएको ठाउँ आसपासमा अहिले बस्ती विस्तार हुँदै गएकाले आफूहरुलाई समस्या भएको बताएका छन् । पुस्तौंदेखि यस स्थानमा मरेका मान्छेहरुलाई समाधिष्ट गरिदै आए पनि अब भने बस्ती विस्तार हुन थालेपछि स्थानान्तरण गर्नुपर्ने स्थानीय खिमा ओली गिरीले बताए ।

चिहान सम्बन्धी विवाद इलाका प्रहरी कार्यालय थारमारे, वडा कार्यालय हुँदै नगरपालिकासम्म पुगेको छ । यस विषयमा सरोकारवालाहरुले पटक पटक दुबै पक्षहरुबीच सहमति गराए पनि कार्यान्वयन भने हुन सकेको छैन । बागचौर नगरपालिकाका उपप्रमुख कल्पना पुनले यस विवादको समाधानका लागि प्रयास गरे पनि सफल हुन नसकेको बताए ।

प्रकाशित मिति : २०७८ पुष २९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस