२५ जनाभन्दा बढी भेला हुन नपाइने

दाङ । कोरोना सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै दाङमा कुनै पनि मेला महोत्सव, भेला, सभा तथा सम्मेलनलाई रोक लगाउने निर्णय भएको छ । मंगलबार जिल्ला प्रशासन कार्यालय दाङमा भएको विपत व्यवस्थापन समितिको बैठकले कोरोना संक्रमण दर बढ्ने अवस्थामा रहेको भन्दै २५ जना भन्दा बढी भेला हुने कुनै पनि कार्यक्रममा रोक लगाउने निर्णय भएको हो ।

प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा बसेको बैठकले मेला महोत्सव तथा भेलाबाट कोरोना सङ्क्रमणको दर बढ्ने देखिएकाले अवस्था सहज नहुदाँ सम्म त्यस्ता कार्यक्रमहरूलाई रोक लगाउने निर्णय भएको हो । अन्य ठाउँहरूमा पनि २५ जना भन्दा बढी मानिसहरूको जमघट नगर्ने, अनिवार्य मास्क लगाउने, भौतिक दूरी कायम गर्ने, साबुन पानी वा स्यानिटाइजरले हातलाई सफा राख्ने कार्यलाई अनिवार्य पालना गर्ने गराउने निर्णय समेत भएको छ ।

त्यस्तै गरी भारत सहित बहिरी देशहरूबाट आउने नागरिकहरूको वडा तहबाट निगरानी गर्ने, सुरक्षित रहन स्वयं व्यक्तिले सावधानी र होसियारी अपनाउनु पर्ने भएको छ । साथै सङ्क्रमितहरूको उपचारका लागि स्रोत साधन, जनशक्तिलाई तयारी अवस्थामा राख्ने तर्फ काम गर्ने समेत निर्णय भएको छ ।

प्रकाशित मिति : २०७८ पुष २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस