स्वास्थ्य बीमामा नागरिककाे पहुँच पुगेन

रुकुम । रुकुम (पूर्व) का जनतामा स्वास्थ्य बिमाप्रतिको आकर्षण न्यून देखिएको छ । सरकारले विपन्न र गरीब समुदायका नागरिकका लागि गुणस्तरीय उपचार सेवामा पहुँच बढाउने उद्देश्यले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रममा जिल्लाका जनताहरुको पहुँच न्यून रहेको छ । हालसम्म जिल्लामा ६ हजार ३ सय ८८ जना मात्रै स्वास्थ्य बीमाको पहुँचमा पुगेका छन् । २०६८ सालको तथ्यांक अनुसार जिल्लाको जनसंख्या ५३ हजार १८ रहेको छ । जिल्लामा कुल जनसंख्याको १२ प्रतिशतले मात्रै हालसम्म स्वास्थ्य बीमा गरेका छन् ।

जिल्लाका तीनवटै गाउँपालिकामा स्वास्थ्य बीमा गर्नेहरुको संख्या उल्लेख्य रुपमा कम रहेको स्वास्थ्य बीमा बोर्ड रुकुम (पूर्व)का दर्ता अधिकारी सपना पुन (विष्ट)ले बताए । स्थानीय तहहरुले पनि चासो नदिदा यहाँका जनताहरु स्वास्थ्य बीमाको पहुँचमा पुग्न सकेका छैनन् । जिल्लामा २०७४ चैत्र १ गतेबाट स्वास्थ्य बीमा गर्न थालिएको थियो । २०७६ भदौ १५ गते जिल्लामा स्वास्थ्य बीमा बोर्डको शाखा कार्यालय स्थापना गरिएको थियो । जिल्लामै कार्यालय स्थापना गरी बीमा कार्यक्रम सन्चालन गरेपनि हालसम्म १२ प्रतिशत मात्रै स्वास्थ्य बीमामा आवद्ध भएका हुन् । जिल्लामा रहेको ३१ वडा मध्ये अहिले २९ वडामा दर्ता सहयोग पनि राखिएको छ ।

भूमेको वडा नम्बर ९ र पुथाउत्तरगंगा गाउँपालिकाको वडा नम्बर ९ मा मात्रै दर्ता सहयोगीको पद रिक्त छ । यसअघी बीमितहरुले जिल्लाबाटै उपचार सेवा नपाएकाले पनि बीमा प्रति आकर्षण कम देखिएको दर्ता अधिकारी पुनले बताए । यसअघी प्राथमिक स्वास्थ्य केन्द्र कोलबाट स्वास्थ्य बीमा गरेकाहरुले उपचार सेवा पाउने गरेका थिए । त्यहाँ भरपर्दो सेवा प्रवाह भएन । अहिले भने रुकुम पूर्व अस्पतालबाट पनि स्वास्थ्य बीमा गरेकाहरुले उपचार सेवा पाउन थालेका छन् । अहिले जिल्लाबाटै उपचार सेवा पाउने भएपछि भने सहज भएको बिमितहरु बताउँछन् ।

स्वास्थ्य बीमाको प्रावधानअन्तर्गत पाँच जनासम्मको परिवारले बीमा गरेपछि वार्षिक प्रतिपरिवार तीन हजार पाँच सय, परिवारका सदस्य पाँचभन्दा बढी भएमा प्रति सदस्य थप ७ सयका दरले एक वर्षका लागि बीमामा आवद्ध हुने व्यवस्था छ । पाँच जनाको परिवारका लागि प्रतिपरिवार वार्षिक १ लाखसम्मको स्वास्थ्य सेवा पाइने तथा दश जनासम्म परिवारको संख्या भएमा २ लाख वरावरको उपचार पाउने व्यवस्था रहेको छ । ७० वर्ष माथिका ज्येष्ठ नागरिक, क वर्गका अपाङ्ग, एचआइभी संक्रमित र अति बिपन्न परिवारका लागि भने सरकारले निशुल्क रुपमा स्वास्थ्य बीमा गर्दै आएको छ ।

प्रकाशित मिति : २०७८ पुष २६ गते सोमवार
प्रतिक्रिया दिनुहोस