समूह सहकारी आत्मनिर्भरताको बलियो माध्यम : सांसद चौधरी

गढवा । सहकारी संस्था आत्मनिर्भरताको एक बलियो माध्यम भएको नेकपा एमालेका केन्द्रिय सदस्य तथा संसदिय दलका सचेतक शान्ता चौधरीले बताइन् । आइतबार देउखुरीको गढवास्थित मञ्जरी महिला साना किसान कृषि सहकारी संस्थाको तेश्रो बार्षिक साधारण सभाको उद्घाटन गर्दै उनीले यस्तो बताइनकी हुन् ।

महिलाहरुको जिवनस्तर उठाउन र महिलाहरुलाई नेतृत्व गर्ने क्षमताको बिकास गर्नमा सहकारी संस्था र समूहहरुले निकै महत्वपुर्ण भूमिका खेल्ने गरेको बताउँदै समूह सहकारी मार्फत आयस्तर बृद्धि गर्न र आत्मनिर्भर बन्न समूह÷सहकारीमा आवद्ध भै काम गर्न आग्रह गरिन् । आउँदै गरेको माघी पर्वको शुभकामना दिदै सांसद चौधरीले माघी मनाउने नाममा दारु खाएर सडकमा पल्टीने संस्कार त्याग्नुपर्ने बताइन् । कार्यक्रममा बोल्दै मुक्त कमैया र भूमिहीन सुकुम्बासीलाई जग्गाको मालिक बनाउन थालेको बेला आफ्नो पार्टीको सरकार ढालिएको बताउँदै भूमी आयोगको बिघटन गर्नु हजारौं सुकुम्बासीहरुको पेटमा लात हान्नु भएको सचेतक चौधरीले बताइन् ।

संस्थाका अध्यक्ष सिता चौधरीको अध्यक्षतामा सुरु भएको कार्यक्रममा प्रतिनिधि सभाका सांसद तथा नेकपा एमालेका केन्द्रिय सदस्य गंगा चौधरी सत्गौंवाले भूमि आयोगको बिघटन गरेर वर्तमान सरकारले अन्याय गरेको भन्दै तत्काल आयोग पुर्नस्थापना गरि काम सुरु गर्न र भूमिहिन सुकुम्बासीहरुलाई लालपुर्जा दिन आग्रह गरिन् । समूह सहकारीको माध्यमबाट आफ्नो आयस्तर बृद्धि गर्दै नेतृत्व तहमा पुग्न कार्यक्रममा गढवा गाउँपालिकाका उपाध्यक्ष शान्ती चौधरीले उपस्थित महिलाहरुलाई आग्रह गरिन् । कार्यक्रममा गढवा गाउँपालिका कृषि शाखाका अधिकृत शिसीर रेग्मी, एमाले दाङका सदस्य पबित्रा घर्तिमगर र स्वान नेपालका कार्यक्रम संयोजक रेवन्त चौधरी लगायतले बोलेका थिए ।

सो अवसरमा उत्कृष्ट किसान दुरपति चौधरी, शान्ती चौधरी, प्रेम कुमारी चौधरी, अस्मीता चौधरी, तुल्सा जिएम, सिता चौधरी र कालीमैया चौधरीलाई कृषि औजार हँसिया प्रदान गरि सम्मान गरिएको थियो । कार्यक्रममा संस्थाका सहब्यवस्थापक फूलमाया चौधरीले संस्थागत प्रतिवेदन र अध्यक्ष सिता चौधरीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । कुल ६ सय शेयर सदस्य रहेको सो सहकारी संस्थाले कृषि उपज संकलन ब्यवस्थापनका लागि चिस्यान केन्द्र स्थापना गर्दै छ भने कृषि ब्यवसाय सहयोग तथा प्रबर्धन तथा तालिम केन्द्र खजुरा बाँकेको ७ लाख ३५ हजार सहयोगमा आफ्नै कार्यालय भवन निर्माण गरेको छ । त्यस्तै सामुदायिक आत्मनिर्भर सेवा केन्द्र बाँके र नेपाल कृषि सहकारी संघको दुई÷दुई लाखको सहयोगमा उक्त सहकारीले कृषि उपज संकलन केन्द्र समेत संचालनको तयारी गरेको छ । कुल १ करोड १० लाखको हाराहारीमा यो सहकारी संस्थाको कारोवार रहेको छ ।

संस्थाका सचिव कविता चौधरीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको संचालन ब्यवस्थापक संझना चौधरीले गरेकी थिइन् ।

प्रकाशित मिति : २०७८ पुष २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस