कोरोना बढेपछि तुलसीपुरका विद्यालय माघ ३ गतेसम्मका लागि बन्द
घोराही । तुलसीपुर उपमहानगरपालिकाले सामुदायिक र संस्थागत विद्यालयहरु आगामी माघ ३ गतेसम्मका लागि पूर्ण रुपमा पठनपाठन बन्द गर्ने निर्णय गरेको छ । सामुदायिक विद्यालयमा कोरोना संक्रमणको दर तीव्र रुपमा बढेपछि पठनपाठन बन्द गरिएको उपमहानगरपालिकाले जनाएको छ ।
मंगलबार र बिहीबार गरिएको परिक्षणमा तुलसीपुर क्षेत्रका सामुदायिक र संस्थागत विद्यालय गरी ५ वटा विद्यालयका शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएपछि आउने आइतबारदेखि ८३ वटा सामुदायिक र ६८ वटा संस्थागत विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय भएको उपमहानगरपालिकाले जनाएको छ ।
विद्यालयका शिक्षक र विद्यार्थीहरुमा कोरोना संक्रमण दर फैलिएपछि आज तुलसीपुर उपमहानगरपालिकाको आकस्मिक बैठक बसी यस्तो निर्णय गरेको हो । बैठक शिक्षा समितिको संयोजक कुमार लामिछानेको अध्यक्षतामा बसेको थियो ।
सो अवसरमा जनस्वास्थ्य प्रर्वद्धन शाखा प्रमुख ओमपी न्यौपाने, वातावरण तथा विपद व्यवस्थापन समितिका संयोजक नवराज लामिछाने, शिक्षा समितिका सदस्य श्याम डाँगी र विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।