सिप प्रबर्धन गर्दै घरेलु कार्यालय, एड्भान्स डिप्लोमा कटाई सिलाई सुरु

गढवा । घरेलु तथा साना उद्योग कार्यालय दाङले गढवा गाउँपालिकासंगको समन्वयमा देउखुरीको गढवामा मंगलबारदेखि सिलाई ब्यवसायिहरुका लागि दुई महिने एड्भान्स डिप्लोमा कटाई सिलाई तालिम सुरु गरेको कार्यालय प्रमुख उमबहादुर वलीले जानकारी दिए । कार्यालय प्रमुख वलीको अध्यक्षता र गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवको प्रमुख आतिथ्यमा एक कार्यक्रमका बिच भगत सर्बजित सिप प्रबर्धन कार्यक्रम अन्तर्गत दलित लक्षित तालिमको उद्घाटन गरिएको हो ।

तालिमको उद्घाटन गर्दै गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले सिप सिकाएर स्वरोजगार बनाउने अभियान अन्तर्गत लक्षित बर्गलाई सिप प्रबर्धनका लागि घरेलु तथा साना उद्योग कार्यालय दाङले प्रशंसनिय कार्य गरेको बताए । कार्यक्रममा बोल्दै गढवा गाउँपालिका वडा नं. ६ का अध्यक्ष बालचन्द्र ठकूरी हमालले सिलाई पेशालाई परिष्कृत गर्न र दक्ष जनशक्ति गढवामा उत्पादन गर्न यो तालिमले सफलता हाँसिल गर्ने बिश्वाँस ब्यक्त गरे । कार्यक्रममा दाङ जिल्ला कपडा सिलाई ब्यवसायि संघका अध्यक्ष बुद्धिराम नेपालीले कपडा मानव जिवनका लागि इज्जत प्रतिष्ठा र सान संग जोडिएको बिषय भएकोले सिलाई कटाई ब्यवसायलाई जमाना अनुसार दक्षतामा रुपान्तरण गर्नुपर्ने औंल्याए । सो तालिमको प्रशिक्षक समेत आफु रहेको उहाँले कार्यक्रममा जानकारी दिए ।

यहि पुष २० देखि सुरु भएको एड्भान्स डिप्लोमा तहको सिलाई कटाई फागुन १९ गते सम्म संचालन गरिने बताइएको छ । तालिममा काम सिकेर पेशा ब्यवसाय संचालन गरेका २० जना दलित वर्गका ब्यवसायीहरु सहभागि हुनु भएको छ । तालिम सिकाएर सबै सहभागिहरुलाइ एक–एक थान मसिन समेत प्रदान गरिने कार्यक्रमको लक्ष रहेको घरेलु कार्यालयले जनाएको छ । स्थानीय समाजसेवी रेशम बहादुर शाहीको स्वागत मन्तब्यबाट सुरु भएको तालिम उद्घाटन कार्यक्रमको संचालन घरेलु तथा साना उद्योग कार्यालयका अधिकृत बिक्रम केसीले गरेका थिए ।

प्रकाशित मिति : २०७८ पुष २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस