शिक्षक र विद्यार्थीलाई कोरोना देखिएपछि स्कुल बन्द

दाङ । तुलसीपुरमा शिक्षक, विद्यार्र्थीसहित थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार तुलसीपुरको मेट्रो अस्पतालमा वार्ड नं। ८ मा रहेको मावि अश्वाराका विद्यालयका शिक्षक, विद्यार्थीहरूको र शङ्कास्पद लक्षण देखिएका १०६ जनाको एन्टिजेन विधिबाट कोरोना परिक्षण गर्दा ११ जनामा पुष्टि भएको उपमहानगरका कोभिड १९ फोकल पर्सन विमल केसीले जानकारी दिए ।

संक्रमित हुनेमा ४ जना शिक्षक, ६ जना विद्यार्थी र १ जना व्यापारी गरी ११ जना रहेको उनको भनाइ छ । विद्यार्थी र शिक्षकहरूलाई कोरोना पुष्टि भएपछि मङ्गलबारदेखि विद्यालय बन्द गरिएको उनले बताए । त्यस्तै संक्रमित हुनेहरू १४ वर्षका विद्यार्थीदेखि ५४ वर्षका शिक्षकहरू रहेको र उनीहरु सबैमा सामान्य लक्षणहरू मात्र देखिएको उनले बताए ।

त्यस्तै ३ दिनको अवधिमा तुलसीपुरमा ९ जना विद्यार्थीसहित २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जस मध्ये २ जनालाई अस्पतालमा भर्ना गरिएको छ । त्यस्तै उनीहरूको अवस्था सामान्य रहेको फोकल पर्सन केसीले जानकारी दिए । उनका अनुसार कोरोना संक्रमण हुनेहरूमा केही घरमै बसेका व्यक्तिहरूमा र केही बाहिर जिल्लाको भ्रमण गरेका र इन्डियाबाट आएका व्यक्तिहरू समेत रहेका छन् । उनीहरूलाई हल्का ज्वरो, घाँटी दुख्ने, शरीर दुख्ने, निल्न गाह्रो हुने जस्ता लक्षणहरू देखिएको समेत उनले बताए ।

त्यसैले उनले कसैलाई शङ्कास्पद लक्षण देखिएमा तत्काल मेट्रो अस्पतालमा गई निःशुल्क कोरोना परिक्षण गराउन समेत उनले आग्रह गरेका छन् । उनले संक्रमित ब्यक्तिहरू कम्तीमा ७ देखि १० दिनसम्म होम आइसोलेसनमा बस्न समेत आग्रह गरेका छन् ।

प्रकाशित मिति : २०७८ पुष २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस