ठगी गरेको आरोपमा दुईजना पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले कृषक र कर्मचारी ठग्ने फारवेष्ट एग्रिकल्चर सोलुसन एण्ड ट्रेडिङ कम्पनी ९फास्ट नेपाल० का २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला संयोजक सुरेश घले र केन्द्रिय कार्यालयका प्रबन्धक यज्ञराज उपाध्याय रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी श्यामु अर्यालले बताए ।
घलेलाइ बर्दिया प्रहरीको सहयोगमा एक हप्ता अगाडि र उपाध्यायलाई २ दिन अगाडि तुलसीपुरबाट पक्राउ गरेको उनले बताए । तुलसीपुर उपमहानगरपालिका ६ मा कार्यालय खोलेर कम्पनीका कर्मचारी तथा बबई गाउँपालिका, दंगीशरण, शान्तिनगर र तुलसीपुर उपमहानगरका कृषकहरुबाट ९० लाख भन्दा बढि रकम उठाएर ठगी गरेको जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । केही समय पहिले ईलाका प्रहरी कार्यालय तुलसीपुरमा ४८ जना उक्त कम्पनीका कर्मचारीहरूले संयुक्त रूपमा ठगी मुद्दामा जाहेरी दिएका थिए ।
ती कर्मचारीहरूले घले, उपाध्याय र सुमन भनिने मानबहादुर देउवा विरूद्ध किटानी जाहेरी दिएका थिए । फारवेष्ट एग्रिकल्चर सोलुसन एण्ड ट्रेडिङ कम्पनीले तुलसीपुर उपमहानगरपालिका, घोराही उपमहानगरपालिका, दंगीशरण, शान्तिनगर र बबई गाउँपालिकालाई कार्यक्षत्र बनाएर कार्य गर्दै आएको थियो ।
कम्पनीले १३ सय बढि कृषकहरुबाट सदस्य बनाउने बहानामा प्रति किसान ५ सय रुपैयाँका दरले रकम संकलन गरेको थियो । त्यस्तै कर्मचारीहरुको बीमा बापतको ९ लाख ५ हजार रुपैयाँ, कम्पनीमा सेयर बनाउने भनेर ५ जनाबाट ३ लाख रुपैयाँका दरले संकलित रकम १५ लाख रुपैयाँ, विदेश पठाइ दिने भनेर एक जनाबाट संकलित ७ लाख रकम लगेर ठगेका थिए ।
त्यस्तै ४३ जना कर्मचारीलाई ७ महिना सम्मको दिन बाँकी तलब ५५ लाख ७७ हजार ८ सय रुपैयाँ रकम समेत ठगी गरेको भन्दै पीडितहरुले जाहेरी दिएका थिए । पक्राउ परेका विरूद्ध जिल्ला अदालत दाङबाट म्याद थप भइ अनुसन्धान भइरहेको प्रमुख डीएसपी अर्यालले बताए । त्यस्तै सोही संस्थामा संलग्न मान बहादुर देउवा सुगन भनिने फरार रहेको र खोजी कार्यजारी रहेको प्रहरीले जनाएको छ । प्रहरी अनुसार उनीहरुले अन्य जिल्लाहरुमा पनि यस्तै गरि ठगि गरेका छन् ।