धान उत्पादन पाँच वर्षयताकै कम
दाङ । चालुआर्थिक वर्ष २०७८/७९ मा धान उत्पादनमा कमी आएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले विगत पाँच वर्षयताकै धान उत्पादनमा कमी आएको जनाएको हो । मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०७७/७८ को तुलनामा चालुआर्थिक बर्षमा धान उत्पादनमा ८ दशमलव ७४ प्रतिशतले कमी आएको हो ।
चालुआर्थिक बर्षमा ५१ लाख ३० हजार मेट्रिक टन धान उत्पादन भएको छ । गत चालुआर्थिक बर्षमा ५६ लाख २१ हजार मेट्रिक टन धान उत्पादन भएको थियो । यस्तै आर्थिक बर्ष २०७६/७७ मा ५५ लाख ५० हजार ८७८, ७५/०७६ मा ५६ लाख १० हजार र ७४/७५ मा ५१ लाख ५१ हजार ९२५ मेट्रिक टन धान उत्पादन भएको थियो ।
गत वर्षको तुलनामा मन्त्रालयले यस वर्ष धान उत्पादनमा वृद्धि हुने अनुमान गरेता पनि धान थन्काउने बेलामा नै वर्षा र हावाहुरीका कारण धानमा क्षति पुग्दा उत्पादनमा कमी आएको मन्त्रालयका प्रवक्ता प्रकाश सञ्जेलले जानकारी दिए ।
उनका अनुसार सुदुरपश्चिम र लुम्बिनी प्रदेशका कैलाली, कञ्चनपुर, बर्दिया, बाँके, कपिलवस्तुलगायत विभिन्न जिल्लामा बैमौसमी वर्षाले किसानको धानमा क्षति पु¥याउदा समग्र राष्ट्रिय धान उत्पादनमा कमी आएको हो । यसवर्षको बेमौसमी वर्षाले देशभरका एक लाख ११ हजार ६०९ हेक्टरमा लगाइएको चार लाख २४ हजार ११३ टन धानबालीमा क्षति पु¥याएको मन्त्रालयले जनाएको छ ।