सोलार सिस्टमबाट सिंचाई तथा खानेपानी

दाङ । राप्ती गाउँपालिकाको कार्यालय तथा नामसालिङ सामुदायिक विकास केन्द्रको सहकार्यमा वडा नं १ को माछी ताल र खर्कमा सोलार सिस्टम बाट सिँचाइ तथा खानेपानीको काम सञ्चालन भैरहेको छ ।
वडा नं १ का दुई विकट बस्तीमा खानेपानी तथा सिँचाइको सर्वसुलभ सेवा प्रदान गर्ने उद्देश्यका साथ सोलार लिफ्टिङ खानेपानी तथा सिँचाइको ब्यवस्था गरिएको हो ।

निर्माण सम्पन्न भएको माछी तालको सोलार लिफ्टिङ सिँचाइ र निर्माणको अन्तिम चरणमा रहेको खर्कको खानेपानी योजनाको स्थलगत अनुगमन गरिएको छ । माछी तालको सिँचाइ अवस्थाको अवलोकन पछि राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले नागरिकको सेवाका लागि सिँचाइको ब्यवस्था गर्दा जीवन स्तरमा समेत सुधार ल्याउन सकिएको र थप खानेपानीको समेत ब्यवस्था गरिने बताए ।

अध्यक्ष सुवेदीले माछी ताल सुख्खा क्षेत्र भएकोमा सोलार सिँचाइले गर्दा गहुँ, मकै तरकारी उत्पादन तथा सरसफाइमा समेत सहजता पुगेको बताए । निर्माणको अन्तिम चरणमा रहेको खर्कको खानेपानी योजनाको स्थलगत अनुगमन पश्चात उपाध्यक्ष जगदम्बा कुमारी चौधरीले नागरिकको नैसर्गिक अधिकार खानेपानी तथा सरसफाइलाई पूर्णता दिन खानेपानीको योजना सञ्चालनमा ल्याइएको बताए ।

माछीताल र खर्कमा सिँचाइ तथा खानेपानीको काम गर्दै आएको नामसालिङ सामुदायिक विकास केन्द्र दाङका प्रमुख शशाङ्क बाबु आचार्यका अनुसार माछी तालको सिँचाइका लागि करिव २८ लाख रुपैयाँ लगानी गरिएको छ जसमा गाउँपालिका तथा वडा नं १ ले १५ लाख, नामसालिङको १० लाख र स्थानीय नागरिकको ३ लाख लागतमा निर्माण सम्पन्न गरिएको हो ।

साथै खर्कको खानेपानी योजनामा गाउँपालिकाको ९ लाख र नामसालिङको ६ लाख लगानी रहेको छ । स्थानीय बगासोती खोलामा निस्काएको मूललाई व्यवस्थित तवरले संरक्षण गरि २ स्थानमा रिजर्भमा टङ्की निर्माण गरि खानेपानी योजना सञ्चालन गरिन थालिएको छ ।

अटोमेटिक सोलार सिस्टम वाट पानी सञ्चालन हुने प्रविधि मार्फत पानी वितरण गरिने केन्द्र दाङका प्रमुख शशाङ्क बाबु आचार्यले जानकारी दिए । गाउँपालिका अध्यक्ष सुवेदी, उपाध्यक्ष कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजाल, वडा अध्यक्ष तारा बहादुर डिसी, विष्णु बहादुर घर्ती क्षेत्री, लेखाअधिकृत धन प्रसाद शर्मा, सव इन्जिनियर प्रदिप वैदिक, वडा सदस्य पूर्णजंग रश्मि, नामसालिङ सामुदायिक विकास केन्द्र दाङका प्रमुख शशाङ्क बाबु आचार्य, सञ्चार संयोजक तीर्थराज ज्ञवाली लगायतको सहभागिता रहेको टोलीले दुई स्थानको खानेपानी तथा सिँचाइको अवस्थाको अनुगमन गरेको हो ।

प्रकाशित मिति : २०७८ पुष १६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस