उपमहानगरपालिकाभित्र अझै ७% बालबालिका कुपाेषित
दाङ । तुलसीपुर उपमहानगरपालिकामा ७ प्रतिशतभन्दा बढी बालबालिकाहरू कुपोषित रहेका छन् । उपमहानगरका जनस्वास्थ्य निरीक्षक विमल केसीका अनुसार ७ प्रतिशत बालबालिकाहरू कुपोषित रहेको तथ्यांक छ । गत वर्षको तथ्यांक अनुसार उपमहानगरमा १४ हजार ५ सय ५ वर्षमुनिका बालबालिकाहरू रहेको र ति मध्य ७ प्रतिशत बालबालिका कुपोषित रहेको उनले बताए । त्यस्तै उनले उपमहानगरपालिकामा अझै पनि बालबालिकाहरूमा कुपोषणको समस्या रहेको भन्दै आफूहरूले कुपोषण बढाउनको लागि आमा र बच्चाको स्वास्थ्यलाई स्वस्थ राख्नको लागि उपमहानगर सबै स्वास्थ्य संस्था स्वास्थ्यकर्मीलाई तालिम दिँदै आएको बताए ।
त्यस्तै तुलसीपुरमा कुपोषित बालबालिकाहरूको उपचारको लागि २ वटा ओटीसी सेन्टरहरू सञ्चालन भइरहेको उनको भनाइ थियो । मानपुर स्वास्थ्य चौकी र टरिगाउँ स्वास्थ्य चौकीमा सेन्टर भएयता पनि उनीहरूको अवस्था जटिल भएमा जिल्लामा अन्य राख्ने ठाउँ नभएको समेत उनले बताए । उनले भने, ‘पहिला राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा थियो । तर, अहिले त्यहाँ बन्द भएको छ । कुपोषणका जटिल अवस्थाका बालबालिकाहरूलाई उपचार गर्ने ठाउँ नहुँदा समस्या भएको छ । हामीले उपचारका लागि नेपालगन्ज पठाउनु पर्ने अवस्था छ ।’
त्यस्तै अबको केही समयपछि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा त्यहाँ बालबालिकाहरूलाई राख्ने भन्ने कुरा भएको समेत उनको भनाइ छ । त्यस्तै उपमहानगरमा कुपोषित देखिने बालबालिकाहरू अलि विकट वडाहरूका रहेको समेत उनले बताए । तुलसीपुरको वडा नं. ४, ७ र १३ का बालबालिकाहरू बढि कुपोषित भएको उनले बताए । जनस्वास्थ्य निरीक्षक केसीका अनुसार तुलसीपुर वडा नं. ११ लाई पोषण मैत्री वडा घोषणा गर्न लागिएको छ । बालबालिकाहरू कुपोषण हुने कारणहरू धेरै भएयता पनि खानपिन, आहार व्यवहार, समय व्यवस्थापन जस्ता रहेका समेत उनले बताए ।
त्यस्तै उनले बढ्दो शहरीकरण, खाद्यान्नको अभाव र बालबालिकाहरूको उमेरलाई महत्व नदिँदा पनि कुपोषण बढ्ने गरेको बताए । त्यस्तै बालबालिकाहरूलाई २ वर्षभित्र दिनुपर्ने कुराहरू नदिँदा र सानो उमेरमा बालबालिकाहरूलाई विद्यालय पठाउने र विद्यालयले पनि ध्यान नदिँदा समस्या हुने गरेको उनको भनाइ छ । उनले भने, ‘हामीले हरेक बार खाना चार भन्छौ । तर, हामीले त्यो खानालाई मिलाएर नखाँदा पनि कुपोषण बढ्दै गएको हो ।’