दाङमा राष्ट्रिय टेबल टेनिस प्रतियोगिता हुँदै
दाङ । दाङको तुलसीपुरमा राष्ट्रिय टेबल टेनिस प्रतियोगिता हुन लागेको हो । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री स्वर्गीय खुमबहादुर खड्काको तेस्रो स्मृति दिवसको अवसरमा यही पुस १६ गतेदेखि १८ गतेसम्म युथ क्लब अफ तुलसीपुरको आयोजना राष्ट्रिय टेबल टेनिस प्रतियोगिता हुन लागेको हो । स्वर्गीय खड्काले गरेका काम कर्तव्यलाई जीवन्त राख्ने उद्देश्यले प्रतियोगिताको आयोजना गर्नका लागेको मंगलबार पत्रकार सम्मेलन गरी क्लबका अध्यक्ष बसन्त गिरीले बताए ।
प्रतियोगितामा २५ जिल्लाका ३ विभागीय टोलीसहित २ सय खेलाडीहरू सहभागि हुने उनको भनाइ छ । त्यस्तै प्रतियोगिता ३ इभेन्टमा खेलाइने छ । प्रतियोगिताको विजेताले ५ लाख ४३ हजार नगद, प्रमाणपत्र, मेडल हात पार्ने आयोजकले जनाएको छ । प्रतियोगिता तुलसीपुरको कभर्ड हलमा हुनेछ ।
यस्तै खेलाडीको बस्ने, खाने र यातायात खर्च समेत आयोजकले व्यहोर्ने जनाएको छ । प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेशका वन मन्त्री सुरेन्द्र हमालले गर्ने कार्यक्रम रहेको अध्यक्ष गिरीले बताए । प्रतियोगिताको उद्घाटन पुस १६ गते बिहान ९ बजे हुने छ । प्रतियोगिता सञ्चालनका लागि १७ लाख बढी लागत लाग्ने आयोजकले बताएको छ ।