रेडक्रसको इन्कोर कार्यक्रम समिक्षासहित बहिर्गमन कार्यशाला

गढवा । नेपाल रेडक्रस सोसायटी दाङद्वारा बिगत साढेचार वर्ष अगाडीदेखि गढवा र राजपुरका १५ वटा वडाहरुमा संचालन गरिएको इन्कोर कार्यक्रमको सोमवार गढवामा समिक्षासहित बर्हिगम कार्यशाला सम्पन्न भएको छ । रेडक्रस दाङका सभापति नारायण आचार्यको अध्यक्षता र गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवको प्रमुख आतिथ्यमा कार्यशाला सम्पन्न भएको हो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाईटीको इन्कोर परियोजना मार्फत गढवा गाउँपालिका क्षेत्रमा गरिएका कार्यक्रमहरुको विश्लेषणात्मक प्रस्तुति कार्यक्रम अधिकृत जगत तामाङले गरेका थिए । रेडक्रसले गढवा गाउँपालिकाका सबैजसो वडाहरुमा बिपद् प्रतिकार्यमा खट्नका लागि थुप्रै दक्ष जनशक्ति उत्पादन गरेको, कोभिड–१९ नियन्त्रण र रोकथाममा गाउँपालिकालाई विशेष सहयोग गरेको, खानेपानी, सरसफाई तथा स्वच्छताका गतिविधिहरु संचालन गरेको, समुदाय स्तरमा आपतकालीन बिपद् प्रतिकार्य कोषहरु स्थापना गरेको, बिपन्न र सिमान्तकृत बर्गहरुमा जिविकोपार्जनका विभिन्न गतिविधिहरु संचालन गरेको, सुरीषत आबास निर्माण र सर्पदंश उपचार केन्द्रलाई १७ लाख बराबरको भेण्टिलेटर उपलब्ध गराएको गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले बताए । इन्कोर कार्यक्रमले गढवाको बिकास र समृद्धिमा करोडौ बजेट लगानी गरि ठूलो टेवा पुर्याएको भन्दै अध्यक्ष यादवले आगामी दिनमा पनि यस्ता कार्यक्रम ल्याउन रेडक्रस दाङलाई अनुरोध गर्दै धन्यवाद ज्ञापन गरे ।
कार्यक्रममा गढवा गाउँपालिकाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, प्रशासन प्रमुख, जनप्रतिनिधीहरु, विषयगत शाखाका प्रमुखहरु, गढवामा कृयाशिल सरकारी तथा गैह्र सरकारी संघसंस्था, नागरिक समाज, सुरक्षा निकाय, रेडक्रस दाङका सभापति, उपसभापति, मन्त्री र रेडक्रसकर्मीहरुको बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रमको सहजीकरण रेडक्रस इन्कोर परियोजनाका फिल्ड अधिकृत देवि प्याकुरेलले गरिकी थिइन् ।