घरेलु कार्यालयद्धारा प्रविधिसँगै बाजा बजाउने तालिम सुरुवात

गढवा । घरेलु तथा साना उद्योग कार्यालय दाङले देउखुरीको गढवामा प्रविधिसँगै लोपोन्मुख पञ्चैबाजा बजाउने तालिम सुरुवात गरेको छ । कार्यालय प्रमुख उमबहादुर वलीको अध्यक्षतामा एक विशेष कार्यक्रमका बिच सोमबार गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले बाजा बजाएर कार्यक्रमको उद्घाटन गरेका थिए ।

कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष यादवले लोपोन्मुख पञ्चैबाजा कला संस्कृति संरक्षण गर्ने हेतुले बिगत २ वर्ष अगाडी गाउँपालिकाको मुख्यमन्त्री ग्रामीण बिकास कार्यक्रम मार्फत तालिम र केहि बाजा खरिदमा सहयोग गरिएको बताए । यो तालिमले ब्यबहारिक रुप दिएको छ, रोजगारी पनि भएको छ भने संस्कृतिको संरक्षण पनि भएको छ उनले भने । घरेलु तथा साना उद्योग कार्यालय दाङले थप दक्षताका लागि प्रविधिसँगै सीप सिकाउन थालेकोमा अध्यक्ष यादवले प्रशंसा ब्यक्त गरे ।

कार्यक्रममा गढवा गाउँपालिका वडा नं। ६ का वडा अध्यक्ष बालचन्द्र ठकूरी हमालले दलित समुदायले बजाउँदै आएको बाजामा ब्राम्हण, क्षेत्री, ठकूरी र चौधरीको समेत आकर्षणमा ब्यवहारिक प्रयोग भएको भन्दै छुवाछुत मुक्त गाउँपालिकाको अभियानलाई समेत यो कार्यक्रमले एक गतिलो उदाहरण दिएको बताए । कार्यक्रममा बोल्दै गढवा उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर बुढाले सीपँंगै रोजगार त्यसमा पनि प्रविधि समेत हस्तान्तरण गर्ने घरेलु तथा साना उद्योगको यो कार्यक्रमले बाजा बजाउने संस्कृतिको बिकास गर्दै ब्यवसाय प्रबर्धन गरेको बताए ।

कार्यक्रममा गढवा उद्योग बाणिज्य संघका सदस्य दिनमणी आचार्य, गढवा पञ्चैबाजा कला संस्कृति संरक्षण केन्द्रका अध्यक्ष चुडामणी पौडेल, होटल ब्यवसायी संघ गढवाका सचिव तिलकबहादुर पुन, कार्यपालिका सदस्य सावित्रा गहतराज, स्थानीय समाजसेवी रेशमबहादुर शाही, पत्रकार शिबराज पन्थी र दुखहरण यादव लगायतले घरेलु कार्यालयले सुरुवात गरेको यस्तो अभियानको प्रशंसा गरेका थिए । तालिम उद्घाटन समारोहको संचालन घरेलु तथा साना उद्योग कार्यालय दाङका अधिकृत बिक्रम केसीले गरेका थिए ।

प्रकाशित मिति : २०७८ पुष १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस