तुलसीपुर महोत्सव एक दिन थप, चर्चित गायिका ज्योति मगर आउँदै

दाङ । तुलसीपुरमा जारी ऐतिहासिक तुलसीपुर महोत्सव एक दिन थप भएको छ । महोत्सवमा आउने दर्शकहरू संख्या दिनहुँ बढ्न थालेपछि महोत्सवको समय एक दिन थप गरिएको महोत्सव मूल आयोजक समितिका संयोजक टोपबहादुर घर्तीले बताए ।
‘महोत्सव अवलोकन गर्ने दर्शकहरूको संख्या बढिरहेको छ । महोत्सव थप्न पर्ने माग पनि आयो । त्यस कारण एक दिन थप गरेका छौ ,’ उनले भने । शनिबार करिब ५० हजार दर्शकले महोत्सवको अवलोकन गरेका थिए । तुलसीपुर क्षेत्रको उद्योग व्यापार, कृषि र पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित महोत्सवमा करिब ५ करोडको आर्थिक कारोबार र ३ लाख दर्शकले अवलोकन गर्ने सञ्चार संयोजक ओपेन्द्र बस्नेतले जानकारी दिए ।
आइतबार चर्चित लोकदोहोरी गायक राजु परियार, भागिरथ चलाउने, कमला घिमिरे लगायतका कलाकारहरूले दर्शकहरूलाई भरपुर मनोरञ्जन दिलाएका थिए । सोमबार चर्चित गायिका ज्योति मगर, चन्द्र प्रकाश शर्मा, नृत्यङ्गना करिना डिसी लगायतका कलाकाहरूको बेजोड प्रस्तुति रहने सांस्कृतिक उपसमितिका संयोजक सन्तोष खड्काले जानकारी दिए ।